०४ साउन २०८३, सोमबार
सरसर्ती २४ घण्टा

गणतन्त्रवादी र राजावादीको एकैदिन प्रदर्शन, देशमा लोडसेडिङ नहुने

चैत १३, २०८१
काठमाडौं
गणतन्त्रवादी र राजावादीको एकैदिन प्रदर्शन, देशमा लोडसेडिङ नहुने

लोकान्तर राउण्ड अपमा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
सत्तापक्षीय दलका शीर्ष नेताबीच संघीय संसद्‌मा विचाराधीन विधेयकलाई संसदीय प्रक्रियाबाट यथाशीघ्र टुङ्गोमा पुर्‍याउन पहल गर्ने विषयमा छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटरमा मंगलबार भएको बैठकमा विचाराधीन विधेयकलाई चाँडै अघि बढाउने विषयमा छलफल भएको हो । 

बैठकमा भूमिसम्बन्धी अध्यादेशमा राजनीतिक सहमति जुटाउनेलगायत समसामायिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
००००
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपाले) राजसंस्था फर्काउन निरन्तर आन्दोलन गर्ने भएको छ । मंगलबार बसेको मूल आन्दोलन समितिको बैठक निरन्तर आन्दोलन गर्ने निर्णय गरेको छ ।

मूल आन्दोलन समितिका सदस्य सचिव ज्ञानेन्द्र शाहीका अनुसार चैत २६ गते काठमाडौंमा विशाल सभा गरिनेछ । यही चैत १६ गतेदेखि नै देशभर साना तथा ठूला कार्यक्रम गर्ने बैठकले निर्णय गरेको छ ।

यसैगरी पूर्वपञ्च नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ले चैत १५ गते राजधानीमा जनप्रदर्शन गर्ने भएको छ । 

समितिले मंगलबार एक विज्ञप्ति जारी गर्दै उक्त जनप्रदर्शनमा सम्पूर्ण राजसंस्थावादी, हिन्दू अधिराज्यवादी तथा सङ्घीयता विरोधी आम सर्वसाधारण, राजनीतिक पार्टी र समूहहरूलाई साथ, सहयोग र समर्थनका लागि आह्वान गरेको छ । सोही दिन दुर्गा प्रसाई नेतृत्वको अभियानको पनि प्रदर्शन तय भएको छ । प्रदर्शन एकैठाउँमा हुने बताइएको छ । 

यसैगरी सोही दिन गणतन्त्रवादी दलहरु समाजवादी मोर्चामा आबद्ध माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेसपा र नेकपाको पनि प्रदर्शन हुने भएको छ । मोर्चाको भृकुटीमण्डप र राजावादीको तिनकुनेमा प्रदर्शनस्थल तोकिएको छ । 
००००
चालु आर्थिक वर्ष २०८१–८२ को पुँजीगत खर्चबारे अर्थ मन्त्रालयले अरू विषयगत मन्त्रालयहरूसँग छलफल गरेको छ । अर्थ मन्त्रालयका अनुसार २०८१ साल चैत ११ गतेसम्म पुँजीगततर्फ रु ८७ अर्ब ३३ करोड ४२ लाख मात्रै खर्च भएको छ ।
००००
प्रहरीले काठमाडौँको खड्का गाउँमा सोमबार साँझ एक जनाको हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा १६ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरूलाई आज सार्वजनिक गरिएको छ । 

काठमाडौँ महानगरपालिका–१४ खड्का गाउँस्थित सडकखण्डमा दुई समूहबीच भएको झगडामा दोलखा स्थायी घर भई काठमाडौँको चन्द्रागिरि नगरपालिका–७ बस्ने २३ वर्षीय अभय भन्ने अबे तामाङको मृत्युभएको थियो ।
००००
दलहरूबीच सहमति नमिल्दा मधेस प्रदेशसभा बैठक अनिश्चित भएको छ । 

प्रदेशसभाको गतिरोध अन्त्य गराउन मंगलबर बिहान बसेको दलहरूबीचको बैठकमा सहमति नभएपछि आजका लागि बोलाइएको बैठकसमेत स्थगित भएको जनमत पार्टी संसदीय दलका नेता महेशप्रसाद यादवले बताए ।
००००
नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले पदभार ग्रहण गरेका छन् । 

मंगलबार साँझ प्राधिकरणमा पुगेर नवनियुक्त कार्यकारी निर्देशक शाक्यले पदभार ग्रहण गरेका हुन् ।  प्राधिकरणमा पुग्दा कर्मचारीहरूले शाक्यलाई स्वागत गरेका थिए । पदभार ग्रहण गरेपछि शाक्यले आफूले न्याय पाएको बताए । 

यसअघिको आफ्नो योजना अनुसार प्राधिकरणलाई अघि बढाउने उनले बताए । उनले प्राधिकरणभित्र रहेका समस्यालाई सामूहिक रूपमा समाधान गर्ने जिकिर गरे । यस्तै देशमा लोडसेडिङ नहुने पनि स्पष्ट पारे ।
००००
प्रधानमन्त्री केपी शर्मा ओलीले वर्षौंको प्रयासपछि नेपालबाट लोडसेडिङ अन्त्य भएको बताएका छन् । प्रमिथसले स्वर्गबाट पृथ्वीमा आगो ल्याएजस्तै कसैले बिजुली ल्याएर नेपालबाट लोडसेडिङ अन्त्य नभएको उनले बताए । 

सुजाता कोइरालाले लेखेको ‘म र सानोबुवा’ पुस्तकको विमोचन समारोहलाई मंगलबार काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कुलमान घिसिङले चमत्कार गरेर लोडसेडिङ अन्त्य नगरेको बताएका हुन् ।
००००
नेकपा माओवादी केन्द्रले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने सरकारको निर्णय तत्काल फिर्ता लिन माग गरेको छ । 

मंगलबार माओवादी प्रवक्ता एवं उपाध्यक्ष अग्नि प्रसाद सापकोटाले  विज्ञप्ति जारी गर्दै कुलमानलाई हटाउने सरकारको निर्णय बदनियतपूर्ण र आपत्तिजनक रहेको बताएको छ ।

 यस्तै रास्वपा र राप्रपाले पनि सरकारको निर्णयको आलोचना गरेको छ । 
००००
नेपाल स्टक एक्सचेन्ज (नेप्से) दोहोरो अंकले घटेको छ । मंगलबार नेप्से परिसूचक ५८.०५ अंकले घटेर २५८२.७३ को विन्दुमा बन्द भएको हो ।
००००
सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । 

सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले मंगलबार मन्त्रालयमा पत्रकार सम्मेलनमार्फत् मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका हुन् । जसमा २७ वटा विषय उल्लेख छन् । 

salt training

कमेन्ट गर्नुहोस्