२७ जेठ २०८३, बुधबार

सशस्त्र इन्स्पेक्टर महत आत्महत्या प्रकरणको भित्री कहानी– एउटा म्यासेजले निम्त्यायो घटना

चैत १४, २०८१
काठमाडौं
सशस्त्र इन्स्पेक्टर महत आत्महत्या प्रकरणको भित्री कहानी– एउटा म्यासेजले निम्त्यायो घटना

सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) सन्तोषी महतको आत्महत्याका पछाडि प्रेम सम्बन्धमा आएको दरार र त्यसपछिका घटनाक्रम प्रमुख कारण रहेको पाइएको छ । 

जिल्ला सरकारी वकिल कार्यालय कास्कीले यही चैत ८ गते जिल्ला अदालत कास्कीमा दायर गरेको अभियोग पत्रअनुसार महतको आत्महत्याका पछाडि उनी र इन्स्पेक्टर विवेक जोशीबीचको प्रेम सम्बन्धमा आएको खटपट प्रमुख कारण रहेको देखिएको हो । 

खटपट आउनुमा वरिष्ठ हवल्दार रेशमबहादुर शाहीको पनि भूमिका रहेको अभियोग पत्रमा उल्लेख छ ।

सशस्त्र प्रहरी बल नेपालको नं. २३ गण, मनकामना तनहुँमा कार्यरत इन्स्पेक्टर जोशी र सशस्त्र प्रहरी बल नेपाल हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालयमा प्रशिक्षार्थीका रूपमा कार्यरत महतबीच विगत १० महिनादेखि फोन संवाद, म्यासेज आदानप्रदान र भेटघाट समेत भएको देखिन्छ ।

अभियोग पत्रअनुसार शुरूमा जोशी आफैंले महतलाई प्रेम प्रस्ताव गरेका थिए । उनीहरूले पोखरा लेकसाइडको एक होटलमा रात समेत बिताएको जोशीले सरकारी वकिलसँगको बयानमा स्वीकारेका छन् । 

महतको मोबाइलमा एउटा म्यासेज आएपछि उनीहरूको सम्बन्धमा खटपट आएको देखिन्छ ।

फागुन ९ गते राति महत र जोशी लेकसाइडको होटलमा बसिरहेका बेला एउटा म्यासेज आएको थियो । 

युनिकोडमा पठाएको म्यासेजमा भनिएको छ–

‘थुक्क, भन्ने बेलामा के भन्ने, अनि गर्ने बेलामा के गर्ने ? हजुरभन्दा ऊ त कति फटाहा–कति फटाहा । यस्ता फटाहा झल्लुसँग हजुरको जोडी ? छिछिछि ! मैले त कुनै एंगलबाट राम्रो देखिनँ, अनि हजुर ब्लक गर्नु भन्ने मान्छे उतापो मुन्टिनुभएछ, छिछिछि! के हो यस्तो जात्रा ? तपाईंलाई धेरै शंका गर्ने रहेछ, झूट पनि बोल्दोरहेछ । मंकी जस्तोसँग के हेरेर माया लगायौ ? र्‍यांक मनी कि मेल भर्सन ?’ 

जोशीले यो म्यासेज हेरेपछि महतसँगको सम्बन्धमा दरार शुरू भएको देखिन्छ । 

सरकारी वकिलसँगको बयानमा शाहीले महत र जोशी आउटिङमा गएको तथा रात समेत बिताएको कुरा महत स्वयंले स्वीकारेको दाबी गरेका छन् । तर, त्यसको पुष्टि हुने आधार अभियोग पत्रमा उल्लेख छैन । जोशीले महतलाई शारीरीक एवं मानसिक तनाव दिएको अभियोग पत्रमा उल्लेख छ ।

महतको दिदी, दाइ, शिक्षालयकै प्रशिक्षार्थी इन्स्पेक्टर मिरा चौहान, सविना गदाल, सजिना बस्नेत, समीक्षा बस्नेत, शिक्षालयमा प्रशिक्षकको रूपमा कार्यरत इन्स्पेक्टर मञ्जु बिसुंखे, महतकी बहिनी सुस्मितालगायतले सरकारी वकिल कार्यालयमा गरेको बयान कागजबाट पनि महत र जोशीबीच प्रेम सम्बन्ध रहेको र पछि जोशीले शंका गरेर शारीरिक एवं मानसिक तनाव दिएकै कारण आत्महत्या रोजेको तथ्य खुलेको छ ।

प्रतिवादीमध्येका वरिष्ठ हवल्दार शाहीले एकतर्फी रूपमा महतलाई मन पराउँदै आएको र महतले जोशीसँग सम्बन्ध बढाएपछि त्यसलाई भाँड्न मध्यरातमा म्यासेज पठाएको बयानमै खुलाएका छन् । 

‘तँ यो केटीसँग सुतेको होइन ? भन्दै विभिन्न अपशब्द प्रयोग गरी गालीगौलज गर्दै म र महतलाई १/१ थप्पड हानी तेरो जागिर खाइदिन्छु, देवीलाई फोन लगा, तेरो श्रीमतीलाई फोन लगा भन्दै हप्कीदप्की गरेपछि मैले केही गरेको छैन, हामीबीच कुनै नराम्रो सम्बन्ध छैन भनी माफ मागेको हुँ,’ शाहीले सरकारी वकिलसँगको बयानमा भनेका छन्, ‘महतले मलाई माया गर्ने भएकाले कहिलेकाहीँ फोन तथा म्यासेजमा कुराकानी हुन्थ्यो । त्यतिबेला शंका गरेर जोशीले आफूलाई कुटपिट गर्ने गरेकाले ऊसँग जिन्दगी बिताउन सक्दिनँ भनेर महतले भनेकी थिइन् ।’ 

महतसँगै प्रशिक्षार्थीको रूपमा रहेकी इन्स्पेक्टर समीक्षा थापाले सरकारी वकिलमा गरेको कागजमा इन्स्पेक्टर जोशीले उनको मोबाइलमा समेत फोन गरेर महत आउटिङ गएका बेला कहाँ कोसँग जान्थिन् ? भनेर सोध्ने गरेको खुलाएकी छिन् ।

‘मलाई जोशीको नम्बरबाट फोन गरेर तिमी कहाँ छौ ? तिमीसँग को–को छन् ? सन्तोषी महत कहाँ छिन् ? भनी प्रश्न गर्दा मैले तपाईं को हो भनी बताएपश्चात पुनः फोन गरेर सन्तोषी महत योभन्दा अगाडिको डे आउटमा कोसँग थिइन् भनी प्रश्न गरेपछि अञ्जान व्यक्तिलाई साथीको बारेमा किन जानकारी दिनु भनी मसँगै थिइन् भनेर बताएकी हुँ,’ थापाले सरकारी वकिल कार्यालयमा गरेको कागजमा भनेकी छिन्, ‘फागुन ९ गते जोशीले भेट्न बोलाई महतलाई शारीरिक तथा मानसिक यातना दिएर काट्छु/मार्छु भन्दै धम्की दिई आत्महत्या गर्न बाध्य बनाएको मैले सुनेकी हुँ ।’ 

सरकारी वकिल कार्यालयले प्रतिवादीहरू जोशी र शाहीविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा गर्दा गरेसँगै जिल्ला अदालत कास्कीले दुवै जनालाई पुर्पक्षका लागि कारागार चलान गरेको छ । गत सोमबार जिल्ला न्यायाधीश भोलानाथ ढकालको इजलासले जोशी र शाहीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो । 

हेर्नुहोस्, अभियोग पत्र :

salt training

कमेन्ट गर्नुहोस्