
भोलि (शुक्रबार) काठमाडौंका दुई स्थानमा हुने बेग्लाबेग्लै समूहको प्रदर्शनलाई लक्षित गरेर सुरक्षा व्यवस्था कडा पारिएको छ ।
प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को कमाण्डमा तीन हजार पाँच सयको हाराहारीमा सुरक्षाकर्मी परिचालन गर्ने तयारी काठमाडौं उपत्यका प्रहरी कार्यालयको छ । प्रदर्शनीमार्गमा गणतन्त्र पक्षधर समाजवादी मोर्चा र तीनकुनेमा पूर्वराजा समर्थकले प्रदर्शन गर्दैछन् ।
समाजवादी मोर्चामा आबद्ध नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी र विप्लव नेतृत्वको नेकपाले संयुक्त प्रदर्शन गर्दैछन् । राजावादीका पक्षबाट मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’को ब्यानरमा तीनकुनेमा प्रदर्शन हुँदैछ ।
नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनर्स्थापनका लागि संयुक्त जनआन्दोलन समिति’ले पत्रकार सम्मेलन गरेर प्रसाईंसँगै मिलेर प्रदर्शन गर्न लागेको जानकारी गराइसकेको छ ।
सुरक्षा योजना बनाउन खटिएका एक उच्च सुरक्षा अधिकारीका अनुसार सम्भावित मुठभेड रोक्न उपत्यका प्रहरी कार्यालयले प्रदर्शनीमार्ग र तीनकुनेमा सादा पोशाकमा समेत ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गर्ने तयारी गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्व अधिकारीले सुरक्षा कमाण्डको नेतृत्व गर्नेछन् । तीनकुनेमा बानेश्वर, गौशाला वृत्तका डीएसपी खटिनेछन् भने प्रदर्शनीमार्गमा जनसेवा, दरबारमार्ग र सिंहदरबार वृत्तका डीएसपी खटिने छन् ।
काठमाडौं परिसरमै कमाण्ड सेन्टर बनाएर प्रहरी खटनपटन गर्ने व्यवस्था मिलाइएको छ । कमाण्ड सेन्टरमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारी समेत बसेर निर्देशन दिने भएका छन् । प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मीलाई संयुक्त रूपमा परिचालन गरिने काठमाडौं प्रहरी प्रमुख, एसएसपी अधिकारीले जानकारी दिए ।
सुरक्षा रणनीति अनुसार पूर्वराजाका समर्थकलाई सकभर रिङरोडमा मात्रै जुलुस निकाल्ने गरी ‘कर्डन’को व्यवस्था मिलाइएको छ । भक्तपुरबाट आउने राजावादीहरूलाई तीनकुनेमै रोक्ने रणनीति प्रहरीले बनाएको छ । त्यस्तै, समाजवादी मोर्चाका समर्थकलाई भने भक्तपुरतिरबाट कोटेश्वर हुँदै बालकुमारी तर्फ ‘डाइभर्ट’ गर्ने तयारी प्रहरीको छ ।
‘सकभर मुठभेड हुन दिने अवस्था आउन दिँदैनौं, शान्ति सुरक्षाको प्रत्याभूति दिन प्रहरी चुक्दैन’, एसएसपी अधिकारीले भने, ‘प्रदर्शनमा उत्रिनेहरूलाई पनि संयम भएर शान्तिपूर्ण रूपमा प्रदर्शन गर्न हामी सुझाउँछौं ।’
समाजवादी मोर्चाले बबरमहलबाट माइतीघर र त्रिपुरेश्वर हुँदै प्रदर्शनीमार्गसम्म जुलुस निकाल्ने गरी रुट तय गरेको छ । कुपण्डोलमा भेला हुने मोर्चाका समर्थक त्रिपुरेश्वरबाट प्रदर्शनीमार्ग पुग्नेछन् ।
सोह्रखुट्टेबाट पकनाजोल र जमल हुँदै त्रिचन्द्रतर्फ जुलुस निकाल्न मोर्चालाई जिल्ला सुरक्षा समितिले अनुमति दिएको छ ।