३१ असार २०८३, बुधबार

अन्नपूर्ण आरोहणका लागि ४२ जनाले लिए अनुमति

चैत १५, २०८१
म्याग्दी
अन्नपूर्ण आरोहणका लागि ४२ जनाले लिए अनुमति

वसन्तयाममा अन्नपूर्ण प्रथम हिमाल आरोहरणका लागि ४२ जनाले अनुमति लिएका छन् । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको भूगोलमा पर्दछ । ​

वसन्तयामका लागि चार समूहका ३० पुरुष र १२ जना महिलाले अन्नपूर्ण आरोहणका लागि अनुमति लिएका पर्यटन विभागकी निर्देशक आरती न्यौपानेले जानकारी दिइन् ।

उनका अनुसार वसन्तयामका लागि हालसम्म नेपालका पाँच वटा हिमाल आरोहण गर्न ५८ जनाले अनुमति लिएकामा सबैभन्दा बढी अन्नपूर्ण आरोहण गर्नेहरू छन् । अघिल्लो वर्षभन्दा यो वर्ष अन्नपूर्ण आरोहण गर्न अनुमति लिने आरोहीहरू बढेका छन् ।

अन्नपूर्ण हिमाल आरोहण अनुमति दिएबापत विभागले रु एक करोड ४७ लाख नौ हजार चार सय २० शुल्क सङ्कलन भएको विभागका निर्देशक न्यौपानेले जानकारी दिइन् ।

उनका अनुसार अघिल्लो वर्षको वसन्तयाममा २५ जनाले अनुमति लिँदा रु ५९ लाख ६१ हजार सात सय ८० शुल्क सङ्कलन भएको थियो ।

अनुमति लिएका आरोहीहरू आधार शिविर पुग्न थालेका अन्नपूर्ण आधार शिविर र मौरिस हर्जोज पदमार्गका अभियन्ता तेज गुरुङले बताए । अन्नपूर्ण आरोहणका लागि योयाम उपयुक्त मानिन्छ ।

उनका अनुसार अन्नपूर्णको हालसम्म चार सय ८८ जनाले सफल आरोहण गरेका छन् । 

आरोहणको ७५ वर्ष पूरा भएको अवसरमा आगामी जेठ २० गते अन्नपूर्ण गाउँपालिकाले अन्नपूर्ण आधार शिविरमा विशेष कार्यक्रमको तयारी गरेको पालिका कार्यालयले जनाएको छ । 

सन् १९५० मा फ्रान्सका मौरिस हर्गोजले अन्नपूर्णमा पहिलोपटक आरोहण गरेका थिए ।

मौरिसले अन्नपूर्ण आरोहण गरेको तीन वर्षपछि सन् १९५३ मा सर एडमण्ड हिलारी र तेन्जिननोर्गे शेर्पाले सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्