२३ जेठ २०८३, शनिबार
जीवनदर्शन

सार्ववर्णिक सर्व–धर्मसम्मेलन : किन र कसरी ?

चैत १६, २०८१
काठमाडौं
सार्ववर्णिक सर्व–धर्मसम्मेलन : किन र कसरी ?

हिन्दू, बौद्ध, जैन, किराँत, मष्टो, बोन नेपालको प्राचीनतम् धर्मसंस्कृति, संस्कार तथा सम्प्रदाय हुन् । नेपाली सम्पदाको रूपमा परापूर्वकालदेखि नै नङ र मासुजस्तै जोडिएर आएका यी धर्मसंस्कृतिले एकले अर्कोलाई सघाउँदै आएका मात्र छैनन् बढाउँदै आएका पनि छन्, बढ्न उत्प्रेरित गर्दै आएका पनि छन् । हिन्दूहरू बौद्ध, जैन, किराँती तथा मष्टो सभ्यता र संस्कृतिको सम्मान गर्छन् उनीहरू हिन्दूसंस्कृतिको सम्मान गर्दछन् । 

यिनीहरूमध्ये केही त यस्ता पनि छन्, जो आफ्नो सभ्यता तथा संस्कृतिका साथै अर्को सभ्यता र संस्कृतिको अनुयायी पनि छन् । कतिपय घले, गुरुङ, आदि जनजाति हिन्दू र बौद्ध दुवै संस्कृति अपनाउँछन् । उनीहरूको मृत्युसंस्कार बौद्ध परम्पराअनुसार हुन्छ जन्म तथा अन्य संस्कार हिन्दू परम्पराअनुसार । मगरहरूमा भने केही फरक पाइन्छ । उनीहरू मृत्युसंस्कार हिन्दूपरम्परा र आफ्नै परम्पराअनुसार गर्छन, अन्य संस्कार हिन्दुपरम्परा अनुसार गर्छन् । उपत्यकाका नेवारहरू केही हिन्दूपरम्परा अपनाउँछन् । केही बौद्ध परम्पराका अनुयायी छन् । केही दुवै अपनाउने पनि रहेका छन् ।

बालादिनमा तामाङ तथा घले जनजाति छिमेकी सज्जनको घरमा सप्ताहपुराण, सत्यनारायणपूजा तथा हिन्दू परम्पराअनुसारको न्वारन पास्नी आदि कार्यमा कैँयौँपटक आफैं सहभागी भएको सम्झना अहिले पनि ताजै छ । त्यस्तै केही वर्ष अघि पंक्तिकारको घरमा एकजना किराँती सज्जन बस्न आएका थिए । उनी प्रत्येक सङ्क्रान्तिमा सत्यनारायणको पूजा गर्ने गर्थे । खुशीको कुरा त के भने हाल आएर धेरै दिनसम्म चल्ने ठूलाठूला यज्ञअनुष्ठानहरू नेपालीहरू सबैको साझा हुन पुगेको छ । यस्तै महायज्ञ गत साउनमा पशुपति वनकालीमा भएको थियो अहिले पोखरा लगायतका विभिन्न स्थानमा भइरहेको छ । यस्ता महायज्ञहरू विगतमा पनि भएका थिए भविष्यमा पनि हुने नै छ ।  

विश्वमा कहीँकतै यति बढी धर्मसहिष्णुताको नमूना छ भने नेपालमै छ । संसारमा धर्मको नाममा केकति मारकाट, झगडा, हत्याहिंसा हुँदै आएको छ सबैलाई थाहा छ । शायद धर्मको नाममा जति हत्या र हिंसा अन्यत्र भएको छैन । आचार्य रजनीशले एक ठाउँमा भनेका छन्– बितेको पाँचहजार वर्षमा धर्मकै नाममा १५ हजारभन्दा बढी युद्ध भइसकेको छ । अरूको त कुरा छाडौँ एउटै धर्ममा आस्था राख्नेहरूबीच पनि सम्प्रदायको निहुँमा झगडा तथा युद्ध र मारकाट हुने गरेको पाइन्छ । उदाहरणका लागि इसाइ र इस्लामलाई नै लिन सकिन्छ तर, नेपालमा त्यस्तो छैन । 

नेपालीहरूमाझ आ–आफ्ना धर्मसम्प्रदायभित्र त यसै पनि सद्भाव र सहिष्णुता छँदैछ विपरीत धर्मसंस्कृतिबीच पनि अनुपम सद्भाव छ, सहिष्णुता छ तर, पछिल्लो अवस्थामा केही विदेशी तत्वबाट विभिन्न प्रलोभन देखाएर यति ठूलो सद्भावमाथि प्रहार हुन थालेको प्रतीत हुँदैछ । थाहा छैन उनीहरू यस्तो किन गरिरहेका छन् । यसबाट उनीहरूको जीत पनि होला, लाभ हासिल पनि गर्लान् तर हार भने नेपालकै हुनेछ, नेपाली समाजकै हुनेछ । 

यस्तो अवस्थामा गण्डकी कोटीहोम शतकुण्डीय गायत्री महायज्ञद्वारा नेपालका उल्लिखित सबै धर्मसंस्कृति तथा सम्प्रदायका अनुयायीलाई एकै स्थानमा गोलबद्ध गराई विराट् धर्मसम्मेलन गर्नेतर्फ चासो दिएको पाइनुलाई सह्रानीय कदम मान्नुपर्छ तर, सम्मेलन गर्नुमात्र ठूलो कुरा होइन भन्नेतर्फ भने आयोजकहरूको ध्यान जानु वाञ्छनीय देखिन्छ ।  

पहिलो कुरा त एकाधपटक सम्मेलन गर्दैमा धर्मसंस्कृतिभित्र देखिएको समग्र समस्या समाधान हुन सक्छ भन्न सकिन्न । त्यसैले यस्ता सर्वधर्मसमभाव सार्ववर्णिक सम्मेलन पटकपटक हुनुपर्छ, भइरहनुपर्छ । 

दोस्रो कुरा सम्मेलनले उठाएको कुराहरूलाई व्यापकरूपमा जनसमक्ष लानु पनि उत्तिकै जरुरी हुन्छ । यसका लागि सम्मेलनले दिएको सुझावलाई लिपिबद्धगरी पुस्तकाकार दिन सकिन्छ, जसले गर्दा त्यस्ता अनमोल सुझावलाई सुरक्षित गर्न पनि सकिन्छ र घरघरमा पुर्‍याएर जनचेतना जगाउन सहयोग पुग्न सक्छ । 

तेस्रो कुरा एउटा भरपर्दो र सर्वग्राह्य व्यक्तित्वको नेतृत्वमा सार्ववणिक सर्वधर्मसमभाव सभा गठन हुनु पनि उत्तिकै जरूरी देखिन्छ, जसले गर्दा यहाँका धर्म, संस्कार तथा संस्कृतिका अनुयायीहरूको तथ्याङ्क सङ्कलनगरी अध्यावधिक गर्न पनि सहज हुन्छ र स्वधर्म र स्वसंस्कृतिको बचावट तथा विकासमा संस्थागत प्रयास गर्न सकिन्छ ।  

चौथो कुरा विभिन्न धर्मसम्प्रदायबाट हुने गरेको धार्मिक तथा सामाजिक काममा एकद्वार प्रणाली लागू गर्न सकिन्छ, जसले गर्दा थोरै श्रम र स्रोतबाट पनि अपेक्षाकृत बढी लाभ लिन सकिन्छ ।   

पाँचौँ कुरा धर्मसंस्कृति तथा संस्कारबीचको आपसी सम्बन्धलाई थप मजबूत गराई परधर्मीहरूद्वारा हुने चलखेलको ढोका बन्द गर्न सकिन्छ ।  यी मोटामोटीरूपमा उठाएका केही उदाहरण हुन् । सर्वधर्मसमभावको संरक्षणको कार्यलाई संस्थागत गर्नेवित्तिकै यस्ता जनमुखी र समाजोपयोगी धेरै काम गर्न सकिन्छ ।

salt training

कमेन्ट गर्नुहोस्