
शुक्रबार काठमाडौंको तीनकुने क्षेत्रमा हिंसात्मक आन्दोलन गराएर फरार भएका दुर्गा प्रसाईं फेसबुक लाइभमा आएका छन् ।
प्रहरीले निरन्तर खोजी गरिरहेका बेला फेसबुक लाइभमा आएका प्रसाईंले आफू नभागेको र काठमाडौंकै कुनै मन्दिरमा बसेको बताएका छन् ।
आफूलाई गोली हानेर मार्ने तयारी रहेको सूचना पाएपछि आन्दोलन छाडेर तीनकुनेबाट भागेको प्रसाईंले बताएका छन् । प्रसाईंले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई गोली हान्ने आदेश दिएको आरोप लगाएका छन् ।
राजावादी समूहले शुक्रबार गरेको प्रदर्शनमा प्रसाईं जनकमाण्डर तोकिएका थिए ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्व अधिकारीले प्रसाईंको भिडियो कहाँबाट पोस्ट भएको भन्ने सम्बन्धमा पत्ता लगाउन साइबर ब्यूरोलाई आग्रह गरिएको बताए ।
उनले लोकान्तरसँग भने, ‘काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र हाम्रो टोली प्रसाईंको खोजीमा लागेको छ । अहिले पोस्ट गरिएको भिडियोको सम्बन्धमा अनुसन्धान गर्न साइबर ब्यूरोलाई अनुरोध गरिएको छ ।’
उनले लुकेर बसेपनि प्रसाईंलाई पक्राउ गरेरै छाडिने बताए । ‘कति दिन कहाँ लुक्ने हो, कानूनी दायरमा आउनै पर्छ’, एसएसपी अधिकारीले भने, ‘यो प्रदर्शनको जिम्मा प्रसाईंले लिनै पर्छ । दण्ड भोग्नै पर्छ ।’