०४ साउन २०८३, सोमबार

सास्तीको पर्याय दाउन्ने सडक, प्रहरी भन्छ- ‘कम्तीमा ३ घण्टा जाममा परिन्छ भन्ने सोचेर आउनुपर्छ’

चैत १८, २०८१
बुटवल
सास्तीको पर्याय दाउन्ने सडक, प्रहरी भन्छ- ‘कम्तीमा ३ घण्टा जाममा परिन्छ भन्ने सोचेर आउनुपर्छ’

चितवनको सौराहामा हुने एक ‘समिट’मा भाग लिन शुक्रबार बिहान बुटवलबाट हिँडेका रुपन्देहीको तिलोत्तमाका विष्णु गैरलाई नारायणगढ पुग्न झण्डै साँझ पर्‍यो ।  

अन्य ठाउँमा कतै कच्ची र कतै एक लाइन कालोपत्रे भएको बुटवल-नारायणगढ सडक खण्डमध्ये दाउन्ने क्षेत्रको १५ किलोमिटर पार गर्न उनलाई ६ घण्टा लाग्यो । ‘बुटवलदेखि बर्दघाटसम्म र दुम्कीबासदेखि गैँडाकोटसम्म कतै पिच र कतै निर्माणाधीन भए पनि अप्ठ्यारो छैन,’ उनी भन्छन्, ‘दाउन्नेमा कतै गाडी रोकेर, कतै वान वे गरेर काम गर्दा यात्रु धेरै घण्टा जाममा फस्दा दुःख पाइयो ।’

पत्रकार टीपी भुसाल पनि आइतबार साँझ सात बजेदेखि सोमबार बिहान सात बजेसम्म १२ घण्टा रातभर दाउन्नेको जाममा फसे । ‘सार्वजनिक यातायातको अवस्था दुरूह छ, हिजो राति ७ बजेदेखि बिहान ७ बजेसम्म निरन्तर जाम भयो, सार्वजनिक यातायात भगवान भरोसा ।’

उनीहरू प्रतिनिधि पात्र मात्रै हुन् । निर्माणाधीन बुटवल–नारायणगढ सडक खण्डको दाउन्नेमा धुलो र लामो जामका कारण यात्रुले उस्तै सास्ती व्यहोरी रहेका छन् ।

सडक विस्तारका क्रममा दाउन्ने क्षेत्रको राजमार्ग भत्काइँदा उकालो र ओरालो क्षेत्रको यात्रा निकै कष्ट पूर्ण बनेको छ । सडक खण्डको अन्य क्षेत्रमा धमाधम कालोपत्र गरिए पनि दाउन्ने क्षेत्रमा भने उबडखाबड सडक, साँघुरा घुम्ती, निर्माणका लागि बनाइएका अस्थायी डाइभर्सन र धुलाम्मे बाटोले यात्रालाई कष्टकर बनाएको हो ।​​​

null

दाउन्ने खण्डमा धुलोका कारण दिउँसै ‘हेड लाइट’ बालेर हर्न बजाउँदै गाडीहरू गुडाउनुपर्ने बाध्यता छ । वैकल्पिक सडक नहुँदा यहाँ दिनहुँ सवारी जाम हुने समस्या उस्तै छ ।

साथै उक्त क्षेत्रमा फोन नलाग्ने, जङ्गल भएका कारण कहिलेकाहीँ यात्रु भोकभोकै बस्नुपर्ने अवस्था छ । दाउन्ने  सडकको अवस्था देखेर गाडी चालकहरू पनि हैरान छन् ।

इलाका प्रहरी कार्यालय, बर्दघाटका इन्स्पेक्टर दीपेन्द्र बानियाले निर्माण कार्य तीव्र र गाडी रोकेर पहाड काट्दा जामको समस्या भइरहेको बताए । ‘अहिले त्यहाँ केही ठाउँमा वान वे भएको छ, वान वे मा गाडीले तँछाडमछाड गर्दा समस्या भएको छ,’ बानियाले लोकान्तरसँग भने, ‘वान वे मा कतै लोड गाडीहरू बिग्रिन्छन् । कतै गाडी रोकेर चट्टान काट्नुपर्ने काम भइरहेको छ । २/३ घण्टा जाम त सामान्य कुरा भइसक्यो ।’

बुटवल–नारायणगढ सडक खण्डको यात्रा गर्दा केही समय जाममा परिन्छ भन्ने मनस्थिति बनाएर आउनुपर्ने उनले बताए । ‘आउँदो वर्षायाममा समस्या बढी आउने ठाउँमा तीव्रताका साथ काम भइरहेको छ । जसले गर्दा यात्रुलाई दाउन्नेमा केही समय जाममा परिन्छ भन्ने मनस्थिति बनाएर आउँदा पनि हुन्छ,’ उनले भने ।​​​

अधिकांश बाटो एकतर्फी सञ्चालनमा रहेको उक्त क्षेत्रमा ​कल्भर्ट निर्माण र सडक चौडा बनाउने काम भइरहेको छ । पहाड काट्ने र भित्तामा पर्खाल लगाउने काम जारी छ ।

नारायणगढ–बुटवल सडक खण्डको बढी जोखिमपूर्ण मानिने क्षेत्र नै यही हो । ६ वर्षदेखि यो खण्ड भएर यात्रा गर्ने यात्रुले निरन्तर सास्ती खेपिरहेका छन् ।

पूर्व र पश्चिम गरी दुई भागमा बाँडेर निर्माण थालिएको दाउन्ने खण्डमा चाँडै नै एकतर्फी कालोपत्रे हुने गरी काम भइरहेको आयोजनाले जनाएको छ ।

null

नारायणगढ–बुटवल सडक आयोजना पूर्वी खण्डका सूचना अधिकारी इञ्जिनियर शिव खनालका अनुसार पूर्वी खण्डमा पर्ने ६५ किलोमिटर सडकमध्ये ४७ किलोमिटर एकतर्फी कालोपत्रको काम भएको छ । 

निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङका सहव्यवस्थापक राकेश झाले सवारी आवागमनमा अवरोध कम गर्ने गरी निर्माण कार्य गरिएको दाबी गरे ।

उनका अनुसार नारायणगढ–बुटवल सडकको ११४ किलोमिटरअन्तर्गत गैँडाकोटदेखि दाउन्नेसम्मको ६५ किलोमिटरमध्ये बजार क्षेत्रमा सर्भिस लेनसहित छ र दाउन्नेको जोखिमपूर्ण क्षेत्रमा १४ किलोमिटर खण्डमा तीन लेनको सडक विस्तारको काम चलिरहेको छ ।

१७ अर्ब लागतमा निर्माण शुरू भएको यस आयोजना समयमा काम नभएपछि हालसम्म तीनपटक म्याद थपिएको छ । तेस्रोपटक थप गरिएको म्याद २०८२ साउन ८ गते सकिने छ । 

salt training

कमेन्ट गर्नुहोस्