१० साउन २०८३, आइतबार

नेकपा एस मोरङको अधिवेशन भोलिदेखि, अध्यक्षमा तीन आकांक्षी

चैत १८, २०८१
विराटनगर
नेकपा एस मोरङको अधिवेशन भोलिदेखि, अध्यक्षमा तीन आकांक्षी

नेकपा एकीकृत समाजवादी मोरङको नवौं जिल्ला अधिवेशन भोलि मंगलबारदेखि विराटनगरमा शुरू हुँदैछ । बुधबारसम्म चल्ने अधिवेशनले ९१ सदस्य जिल्ला कमिटी चयन गर्नेछ । 

अध्यक्ष पदका लागि तीन जना नेता दाबेदार देखिएका छन् । चन्द्रवीर राई, उद्धव पोख्रेल र दीपक ढकाल अध्यक्षको दाबेदार देखिएका हुन् ।

राई वर्तमान अध्यक्ष हुन् भने  पोखरेल उपाध्यक्ष हुन् । ढकाल भने प्रदेश कमिटीका सदस्य हुन्  । अहिलेसम्म केन्द्रीय अध्यक्ष माधव नेपालको आशीर्वाद तीनवटै नेतालाई नदेखिएको एक नेताले बताए । 

‘राईलाई माथिल्लो कमिटीमा लैजाने चर्चा चलेको छ, तर कुन कमिटीमा राख्ने भन्ने टुंगो लागेको छैन । पोखरेल र ढकालमध्ये जसलाई अध्यक्ष नेपालको आशीर्वाद मिल्छ, उसैले बाजी मार्ने हो’, ती नेताले भने । 

उपाध्यक्षमा पनि तीन जना आकांक्षी देखिएका छन् । भुपाल बस्नेत, वीरेन्द्र यादव र विन्दुकला राई आकांक्षी देखिएका छन् । बस्नेत पार्टीको  बेलबारी नगर कमिटीका अध्यक्ष हुन् भने यादव विराटनगर महानगर कमिटी अध्यक्ष हुन् । 

सचिवमा भने धेरै नेता आकांक्षी देखिएका छन् । कार्यालय सचिव  प्रेमराज भारती, ध्रुव डाँगी, प्रदेश कमिटी सदस्य राजेन्द्र सुवेदी, महानगर कमिटी उपाध्यक्ष कविराज घिमिरे र पथरी नगर कमिटी अध्यक्ष तुलसी ढकालले इच्छा व्यक्त गरेका छन् । उपसचिवमा भवानी धमलाको चर्चा रहेको छ।

यो पार्टी फुटेपछिको पहिलो जिल्ला अधिवेशन हो । नेकपा एमालेसँगै जोडेर एसले पनि नवौं जिल्ला अधिवेशन भनेको छ । पहिले २०३ सदस्यीय आयोजक कमिटी रहेको थियो । अधिवेशनमा ५८८ जना प्रतिनिधि छनोट भएका छन् । 

अधिवेशन उद्घाटनमा भने नेकपा एस मोरङले शक्ति प्रदर्शन गर्ने जनाएको छ । उद्घाटन अगाडि पार्टी कार्यालय तीनपैनीबाट जुलुस निकालेर गणतन्त्रका पक्षमा नारा लगाउँदै कार्यक्रमस्थल होटल मनास्लु इनमा पुग्ने नेताहरूले जनाएका छन् । 

उद्घाटन अवसरमा कम्युनिस्ट आन्दोलनमा योगदान दिएका व्यक्तिलाई सम्मान गरिने र विभिन्न व्यक्तिको पार्टी प्रवेश कार्यक्रम पनि रहेको नेकपा एकीकृत समाजवादीले जनाएको छ ।

अधिवेशनको उद्घाटन केन्द्रीय अध्यक्ष नेपालले गर्ने कार्यक्रम रहेको मोरङका अध्यक्ष चन्द्रवीर राईले बताए । महासचिव घनश्याम भुसाल लगायतका नेताले पनि अधिवेशनमा सम्बोधन गर्ने कार्यक्रम रहेको नेताहरूले जनाएका छन् ।  

salt training

कमेन्ट गर्नुहोस्