सरकारले भूकम्पबाट प्रभावित बनेको म्यानमारलाई सहयोग गर्ने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले म्यानमारलाई सहयोग गर्ने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले मंगलबार पत्रकार सम्मेलनमार्फत् जानकारी दिए ।
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै मन्त्री गुरुङले नेपाल सरकारको तर्फबाट राहत सामग्री पठाउने निर्णय भएको बताए ।
उनले भूकम्पमा परी घाइते भएकाको उपचारका लागि नेपाली सेनाको चिकित्सक टोली सेनाकै जहाजमा त्यहाँ पठाउने निर्णय समेत भएको मन्त्री गुरुङले जानकारी दिए । म्यानमारमा चैत १५ गते म्यानमारमा विनाशकारी भूकम्प गएको थियो ।
यसअघि चैत १५ मै बसेको मन्त्रिपरिषद् बैठकले म्यानमार र थाइल्याण्डमा गएको विनाशकारी भूकम्पबाट हुन गएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्ने निर्णय गरेको थियो ।
‘उक्त भूकम्पमा घाइते भएकाहरूको नेपाल सरकार शीघ्र स्वास्थ्य लाभको कामना गर्दछ । साथै, सो भूकम्पका कारण मृत्यु हुनेहरूमा भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवार र त्यहाँका जनतामा धैर्य धारण गर्ने शक्ति मिलोस् भनी नेपाल सरकार कामना गर्दछ’, चैत १५ को मन्त्रिपरिषद् बैठकको निर्णयमा भनिएको छ ।
मन्त्री गुरुङले चैत १५ गते शुक्रबार र चैत १८ गते सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय मंगलबार सार्वजनिक गरेका हुन् ।
हेर्नुहोस् मन्त्रिपरिषद् बैठकका निर्णयहरू :

