
कञ्चनपुर र सुनसरीमा अवैध लागूऔषधसहित तीन जना पक्राउ परेका छन् ।
कञ्चनपुरको भीमदत्त नगरपालिका-१७ बसखेडाबाट नियन्त्रित लागूऔषध डाइजेपाम २९ एम्पुलसहित सोही नगरपालिका-१७ बागवाणी बस्ने ३७ वर्षीय मनोज सुनारलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
अस्थायी प्रहरी बिट मझगाउँबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको जनाएको छ।
यसैगरी, सुनसरीको कोशी गाउँपालिका-१ भन्सार कार्यालय अगाडिबाट अवैध लागूऔषध ब्राउनसुगरजस्तो देखिने पदार्थ करिब ५३ ग्राम २७० मिलिग्रामसहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका-१६ बस्ने ३४ वर्षीय मनोज कुमार चौधरी र सोही उपमहानगरपालिका-६ बस्ने २३ वर्षीय सनम तामाङ रहेका छन् ।
लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका मनोज कुमारलाई २७ ग्राम २७० मिलिग्राम र सनमलाई २६ ग्राम उक्त पदार्थसहित पक्राउ गरेको हो ।