०७ साउन २०८३, बिहीबार

गण्डकी प्रदेशसभाको हिउँदे अधिवेशन बुधबार रातिदेखि अन्त्य गर्न सरकारको सिफारिस

चैत २६, २०८१
पाेखरा
गण्डकी प्रदेशसभाको हिउँदे अधिवेशन बुधबार रातिदेखि अन्त्य गर्न सरकारको सिफारिस

गण्डकी प्रदेश सरकारले प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्यका लागि प्रदेशप्रमुख डिल्लीराज भट्टसमक्ष सिफारिस गरेको छ । 

प्रदेश मन्त्रिपरिषद्को बैठकले बुधबार राति १२ बजदेखि अधिवेशन अन्त्य हुने गरी प्रदेश प्रमुख भट्टसमक्ष मंगलबार सिफारिस गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिलामन्त्री डा. टकराज गुरुङले जानकारी दिए । 

गत माघ २१ गते शुरू भएको हिउँदे अधिवेशनबाट ६ विधेयक पारित भएका र १० विधेयक प्रदेशसभामा पेस भएका प्रदेससभा सचिवालयले जनाएको छ । 

यस अधिवेशनबाट गण्डकी प्रदेशमा साझेदारी फर्मको नियमन र व्यवस्थापन गर्न बनेको विधेयक, सार्वजनिक सडक निर्माण, विस्तार तथा मर्मतसम्भार, प्रदेश निजामती ऐन २०७९ लाई संशोधन गर्न बनेको विधेयक, जीवनाशक विषादी व्यवस्थान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, कर असुलसम्बन्धी विधेयक र केही गण्डकी प्रदेश ऐन खारेज गर्ने विधेयक पारित भएका छन् ।

अधिवेशनमा विद्युत् विकास, औद्योगिक ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक तथा मगर र गुरुङ भाषालाई सरकारी कामकाजको भाषाको रूपमा प्रयोग गर्ने सम्बन्धमा बनेको विधेयक प्रदेशसभामा पेस भएको छ ।

यस्तै, दलित अधिकार तथा सशक्तिकरण, अपाङ्गता भएका व्यक्तिको अधिकार, खानी तथा खनिज, भवन निर्माण तथा बस्ती विकास, खाद्य अधिकार तथा खाद्य गुणस्तर, जनस्वास्थ्य सेवासम्बन्धी र घरेलु मदिराको उत्पादनलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक प्रदेशसभामा पेस गरिएको छ ।

ती विधेयकमाथि प्रदेशसभामा सामान्य सैद्धान्तिक छलफलपछि दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइएको प्रदेशसभा सचिवालयका सूचना अधिकारी प्रेम सुवेदीले जानकारी दिए । 

कमेन्ट गर्नुहोस्