
यही चैत १५ गते काठमाडौंको तीनकुने क्षेत्रमा हिंसात्मक प्रदर्शन गराएर फरार रहेका दुर्गा प्रसाईंले अर्को भिडियो सन्देश जारी गरेका छन् ।
भिडियो सन्देश जारी गर्दै उनले आफू नभागेको समेत दाबी गरेका छन् । उनले आफू नभागेको तर जोगिएको बताएका छन् । उनले आफू नेपालमै कतै रहेको समेत उल्लेख गरेका छन् ।
सामाजिक सञ्जालमार्फत् भिडियो सन्देश जारी गर्दै उनले भनेका छन्, ‘म भागेको होइन । यो केसमा म जोगिएको मात्रै हो । किनभने म रहेँ भने यो अभियान सफल हुन्छ । यो जनविद्रोह सफल हुन्छ । म नै रहिँन भने यो जनविद्रोह यत्तिकै गवाएर जान्छ । म पेरुको गोन्जालो बन्न चाहन्नँ ।’
उनले दुर्गा प्रसाईं अब व्यक्ति मात्र नभएर विचार भइसकेको बताए । उनले आफू नेपालीहरूको लिडर बन्न चाहेको पनि उल्लेख गरेका छन् ।
‘अहिले हरहर दुर्गा, घरघर दुर्गा भएको छ । दुर्गा भनेको विचार हो, व्यक्ति होइन । म नेपाल बचाउन चाहन्छु’, प्रसाईंले भनेका छन् ।
उनले तीनकुने घटनामा ज्यान गुमाएका पत्रकार सुरेश रजक र कीर्तिपुरका सविन महर्जनको परिवारलाई पाँच/पाँच लाख सहयोग गर्ने घोषणा पनि गरेका छन् ।
प्रसाईंले मानवअधिकारवादीको रोहबरमा सार्वजनिक हुन तयार रहेको उल्लेख गरेका छन् ।