
काभ्रेको बनेपामा सशस्त्र प्रहरीले अवैध लागूऔषधसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।
सशस्त्र प्रहरीले करिब ५ किलो पोलाइण्ड नामक लागूऔषधसहित काभ्रेको बनेपा–८ स्थित बसपार्क इलाकाबाट उनीहरूलाई नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा काभ्रेको धुलिखेल नगरपालिका–६ बस्ने २८ वर्षीय अमृत भण्डारी र सोही नगरपालिका–४ बस्ने ३० वर्षीय श्रीकृष्ण सत्याल रहेका छन् ।
उनीहरूलाई सशस्त्र प्रहरी बल इन्टेलिजेन्स ब्यूरोको विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नं. १५ गण काभ्रेले सोही ठाउँको सेकुवा सेन्टर तथा नेवारी खाजाघरबाट ५ पोका पोलाइण्ड नामक लागूऔषधसहित नियन्त्रणमा लिएको हो ।
साथै, उनीहरूले प्रयोग गरेको बा ३८ प १४८१ नम्बरको मोटरसाइकल समेत बरामद भएको सशस्त्रका सहायक प्रवक्ता, डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
नियन्त्रणमा लिइएका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको उनले बताए ।
यसअघि सशस्त्र प्रहरी बलले यही चैत १४ गते काठमाडौं महानगरपालिका–९ सिनामंगलबाट ७ किलोग्राम तथा फागुन १ गते काठमाडौंको गोकर्णेश्वर नगरपालिका–६ जोरपाटीस्थित नयाँ बस्ती र भदौ २२ गते काठमाडौ महानगरपालिका–३२ कोटेश्वरबाट ५/५ किलोग्राम पोलाइण्ड नामक लागूऔषधसहित ५ जनालाई नियन्त्रणमा लिई सम्बन्धित निकायमा बुझाएको थियो ।