२९ असार २०८३, सोमबार

नयाँ वर्षमा तनहुँमा ‘उकालो दौड’ प्रतियोगिता हुने

चैत २९, २०८१
तनहुँ
नयाँ वर्षमा तनहुँमा ‘उकालो दौड’ प्रतियोगिता हुने
फाइल तस्वीर

 

पर्यटकीय गाउँ भुजिकोट क्षेत्रको प्रचार गर्न नयाँ वर्ष २०८२ को पहिलो दिन खुला उकालो दौड प्रतियोगिता हुने भएको छ । शुक्लागण्डकी नगरपालिका–२ स्थित अन्नपूर्ण युवा क्लब कोत्रेको आयोजनामा ‘दोस्रो भुजिकोट स्थानथोक राष्ट्रिय खुला उकालो दौड प्रतियोगिता’ हुन लागेको  हो । 

खेलकुदका माध्यमबाट भुजिकोटसँगै समग्र वडामा पर्यटकीय गतिविधि सञ्चालन गर्न प्रतियोगिताको आयोजना गरिएको क्लबका पूर्वअध्यक्ष एवं कार्यक्रमका संयोजक खेम गुरुङले जानकारी दिए । उहाँका अनुसार प्रतियोगितामा १८ देखि ४५ वर्ष उमेर समूहका महिला र पुरुष सहभागी हुन पाउनेछन् । 

पर्यटकीय क्षेत्र भुजिकोट, स्थानथोकसहित यहाँ रहेका पुराना सांस्कृतिक बस्ती, आदिवासी समुदायको संस्कृति, घरवास कार्यक्रम, ऐतिहासिकस्थलको अवलोकन र दृश्यावलोकनमार्फत यस क्षेत्रको प्रचार गर्न प्रतियोगिता सफल हुने संयोजक गुरुङको विश्वास रहेको छ । 

दौड प्रतियोगिताका साथै गुलेली हान्ने, कुखुराको भाले समाउने र सांस्कृतिक प्रस्तुति प्रदर्शनलगायतका कार्यक्रम सञ्चालन गरिने क्लबका अध्यक्ष अनिल खनालले बताए । 

देशभरका २०० धावक सहभागी हुने अपेक्षा आयोजकको रहेको छ । उनले प्रतियोगितामा उत्कृष्ट २० जनासम्मलाई मेडलमार्फत सम्मान गरिने बताए। कार्यक्रमका प्रवक्ता तीर्थराज खनालले प्रतियोगितामा सहभागी भई विजेता हुने धावकलाई नगद तथा प्रमाणपत्र प्रदान गरिनेछ । प्रथमसहित पाँचौँसम्मका धावकलाई क्रमशः ३३ हजार ३३३, २२ हजार २२२, ११ हजार १११, पाँच हजार ५५५ र रु तीन हजार ३३३ नगदसहित सम्मान गरिने उनले जानकारी दिए। 

कोत्रेचोकदेखि स्थानथोकसम्मको नौ किलोमिटरको दूरीमा प्रतियोगिता हुने जनाउँदै प्रवक्ता खनालले धावकको नाम दर्ताका लागि २५० शुल्क लाग्ने बताए । उनले प्रतियोगिता सम्पन्न गर्न तीन लाख लागत अनुमान गरिएको जनाए । 

क्लबले यसअघि २०७५ मा पनि भुजिकोट उकालो दौड प्रतियोगिता सञ्चालन गरेको थियो । कोरोना महामारीलगायत विभिन्न कारणले रोकिएको प्रतियोगितालाई अब बर्सेनि निरन्तरता दिइने सो क्लबले जनाएको छ । शुक्लागण्डकी–२ भुजिकोट–स्थानथोकबाट पोखराका तालतलैयादेखि हिमालयका सुन्दर दृश्य, विभिन्न जिल्लाका दृश्यावलोकन, राष्ट्रिय फूल लालीगुराँसको अवलोकनका साथै रमणीय ग्रामीण परिवेश हेर्न सकिन्छ ।

salt training

कमेन्ट गर्नुहोस्