२१ असार २०८३, आइतबार

तीन महिने शिशु बोकेर भागेकी युवती पक्राउ

चैत २९, २०८१
सुर्खेत
तीन महिने शिशु बोकेर भागेकी युवती पक्राउ

दैलेखको ठाटीकाँध गाउँपालिका–१, सिराडी ग्वालिपिन्नबाट गएराति अपहरणमा परेकी स्थानीय बमबहादुर बुढाकी तीन महिने छोरी श्रीयासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

शिशु लिएर भाग्दै गरेको अवस्थामा चामुण्डाबिन्द्रासैनी नगरपालिका– २, को लामीडाँडा जंगलबाट अन्दाजी २० वर्षीय महिलालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

जंगलमा भाग्दै गरेको अवस्थामा स्थानीय र प्रहरीले ती महिलालाई नियन्त्रणमा लिएका इलाका प्रहरी कार्यालय दुल्लुका प्रमुख श्याम अर्यालले जानकारी दिए ।

उनका अनुसार पक्राउ परेकी महिला सिरवल भन्ने ठाउँकी शर्मिला विष्ट हुन् । सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा ती महिलाले उक्त शिशु घरबाट आफूले नल्याएको बताएकी छिन् ।

‘दुल्लुका तीन जना (पुरुष)ले बच्चा ल्याएका हुन्, मलाई चामुण्डाकै माथि डाँडामा दिएर उनीहरू नास्ता लिन बुडेली गएका थिए,’ शर्मिलाले भिडियोमा भनेकी छिन् ।

साथै उनले खर/परालमा आफूले आगो नलगाएको पनि बताएकी छिन् ।

गएराति ९ बजेतिर बमबहादुरको परिवार घरमा सुतेको अवस्थामा घर पछाडिको रुखमा राखेको खरमा आगो लागेको थियो ।​

उक्त आगलागीबारे बमबहादुरको परिवारलाई छिमेकीले जानकारी दिएका थिए ।

त्यसपछि बमबहादुर र उनकी श्रीमती छोरा-छोरीलाई सुतिरहेकै अवस्थामा घरमा छाडेर आगो निभाउन गएका थिए । ‘उनीहरू घर फर्किँदा छोरी भेटिइनन्,’ बमबहादुरका दाजु दीपकले भने, ‘खोजी गर्दा कतै भेटिएन । हामीले पराल/खरमा आगो लगाएर हामीलाई उता अल्मल्याएर कोही व्यक्तिले लगेर भागेको शंका लाग्यो ।’

त्यसपछि ठाटीकाँध प्रहरीमा खबर गरिएको उनले बताए । प्रहरी र स्थानीयले खोजी थालेका थिए ।

शुक्रबार बिहान ९ बजेतिर छिमेकी चामुण्डाबिन्द्रासैनी नगरपालिकाको लामीडाँडामा बच्चा बोकेर भाग्दै गरेको अवस्थामा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्