०८ साउन २०८३, शुक्रबार

एमालेको बुटवल जनसभामा जे देखियो...

चैत २९, २०८१
बुटवल
एमालेको बुटवल जनसभामा जे देखियो...

देशको वर्तमान अवस्था र गणतन्त्रको सुदृढीकरण गर्न भन्दै नेकपा एमालेले देशका विभिन्न सात शहरमा सभाको आयोजना गर्‍यो । सभामध्ये लुम्बिनी प्रदेशस्तरीय जागरण सभा बुटवलमा भयो । रामनगरस्थित बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (बीआईसीसी)मा आयोजना गरिएको जनसभा हेर्न र भाषण सुन्न प्रदेशका विभिन्न जिल्लाबाट अनिवार्य उपस्थित हुन एमाले कार्यकर्तालाई ‘उर्दी’ जारी गरिएको थियो । दलहरूप्रति नागरिकमा देखिएको असन्तुष्टिलाई चिर्न गणतन्त्र पक्षधर सबैलाई सहभागी हुने आह्वानसमेत गरिएको सभामा एमालेले अपेक्षाभन्दा निकै कम रहेको पाइयो ।

पानी परेर खुलेपछिको सफा मौसममा प्रचण्ड गर्मीको रापमा सभामा विभिन्न जिल्लाबाट गाडी गाडीमा राखेर ल्याइएका कार्यकर्ताहरू गर्मीले तितरवितर भए । तराईको बढ्दो गर्मीको चापमा खुल्ला ठाउँमा राखिएको सभामा कार्यकर्ता बस्ने ठाउँमा कुनै त्रिपाल र पंखाको समेत व्यवस्था गरिएको थिएन । कार्यकर्ता कसैले छाता ओढे भने, कसैले पछ्यौरा टाउकोमा राखे । कोही सभाभन्दा दायाँ–बायाँ शीतलता खोज्न हिँडे ।

null

५० हजार कार्यकर्ता जनसभामा उपस्थित हुने बताइए पनि त्यसको निकै कम कार्यकर्ता सभामा आएको एक कार्यकर्ताले बताए । ‘ठूलो र लामो तयारीसहित आयोजना गरिएको प्रधानमन्त्री तथा पार्टी अध्यक्षले सम्बोधन गर्ने सभामा तयारी अनुसारको उपस्थिति नहुनु सोचनीय विषय हो,’ ति कार्यकर्ताले भने । 

सभा शुरू हुनुअघि बुटवलदेखि भैरहवासम्म ५ हजार मोटरसाइकल र ५ सय साना गाडीको र्‍याली गर्ने भनिए पनि त्यस्तो देखिएन । ‘अर्का एक नेताले भने, ‘बुटवलमा हुने सभा सम्मेलनमा एमाले उपस्थिति ठूलो हुन पर्ने हो । आजको उपस्थिति कम हो ।’

सभा मध्यान्ह १२ बजेका लागि तय गरिएको थियो । तर दुई घण्टा ढिला गरी प्रधानमन्त्री केपी शर्मा ओली हेलिकप्टरमार्फत बुटवल ओर्लिएपछि बल्ल शुरू भयो ।

जनसभामा जम्मा तीन जना नेताहरू प्रदेश इन्चार्ज तथा पार्टी सचिव पदमा अर्याल, उपप्रधान तथा अर्थमन्त्री एवं एमाले उपाध्यक्ष विष्णु पौडेल र प्रधानमन्त्री ओलीले सम्बोधन गरे ।

झण्डै एक घण्टा आफ्नो भाषणमा खर्चिएका ओलीले वर्तमान सरकारको बचाउ र देशमा राजावादीको कुनै सम्भावना नरहेको दाबी गरे । ओलीले मसानघाटमा पुगेको राजतन्त्र फर्किने कुनै सम्भावना नभएको बताए ।

null

ओलीले देश विकास र एमालेको मिसन २०८४ अभियानबाट सबै अतालिएको दाबी गरे । ‘एमालेको मिसन २०८४ अभियानले सबैको मुटुमा ढ्याङ्ग्रो ठोकेको छ,’ ओलीले भने, ‘एमालेको सही नीति सिद्धान्त र विकास अभियानले सबै अतालिएका छन् । सबै कुराको जवाफ मिसन २०८४ ले दिन्छ ।’

एमालेको शक्ति आफूहरूले वैशाख ११ गते लोकतन्त्र दिवसको दिन काठमाडौंमा युवा महोत्सवमा देखाउने ओलीले दाबी गरे । त्यसका लागि अभियान नै सञ्चालन गरेर काठमाडौं जाऊँ भन्न ओलीले सबैलाई आग्रह गरे ।

ओलीले शिक्षकहरूलाई भावनामा बगेर आन्दोलन नगर्न आग्रह समेत गरे । ‘भावनामा बगेर समस्या समाधान हुँदैन, हामीले उपयुक्त समयमा राष्ट्रको हित हुने गरी ऐन कानून ल्याउँछौं र व्यवस्थित ढंगले सबै समस्याको समाधान गर्छौं,’ ओलीले भने । 

अर्थमन्त्री तथा यहीँ क्षेत्रबाट निर्वाचित प्रतिनिधिसभा सदस्य विष्णु पौडेलले रुपन्देहीमा ठूलो विकास निर्माणको काम अब गर्न बाँकी नरहेको बताए ।

उनले रुपन्देहीमा विकास गर्न केही बाँकी छ ? भन्दै प्रश्न गरे । उनले भने, ‘रुपन्देही केही विकास गर्न केही बाँकी छ ? बाँकी गर्न केही बाँकी छ भने त्यो पूरा गर्ने अठोट छ ।’

अब देश विकास र समृद्धिको दिशामा अघि बढ्ने उनले बताए ।

null

‘देशमा समृद्धिको गाडी ‘स्टार्ट’ भएको छ, ड्राइभरको सिटमा सम्माननीय प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली हुनुहुन्छ, अब यो सरकार गियर चेन्ज गर्दै देश विकास र समृद्धिको दिशामा अघि बढ्दैछ,’ अर्थमन्त्री पौडेलले भने ।

सरकार बन्नु अघि रोकिएको विकास योजना र देशको अर्थतन्त्र एमाले नेतृत्वको सरकार बनेपछि अघि बढेको पौडेलले दाबी गरे ।

यस्तै, पार्टी सचिव पद्मा अर्यालले एमालेमाथि चौतर्फी आक्रमण गरेर कमजोर बनाउने खेल भइरहेको बताउँदै त्यसविरुद्ध दह्रो गरी युवा पुस्ता डटेर लाग्न आग्रह गरिन् । ‘जनतामा भ्रम छरेर सामाजिक अराजकता मच्चाउन खोजिँदै छ । त्यसप्रति संवेदनशील हुनुपर्छ,’ सचिव अर्यालले भनिन् ।

null

null

salt training

कमेन्ट गर्नुहोस्