१९ असार २०८३, शुक्रबार
सरसर्ती २४ घण्टा

दुर्गा प्रसाईंमा देखिएन पश्चाताप, बलात्कार मुद्दा लागेका एमाले नेता तीन महिनादेखि अस्पतालमा

चैत ३१, २०८१
काठमाडौं
दुर्गा प्रसाईंमा देखिएन पश्चाताप, बलात्कार मुद्दा लागेका एमाले नेता तीन महिनादेखि अस्पतालमा

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–

आफ्नै घरमा काम गर्ने किशोरीलाई बलात्कार गरेको मुद्दा लागेका एमालेका एक नेताले तीन महिनादेखि अस्पताललाई नै कारागार बनाइरहेका छन् ।

किशोरीलाई बलात्कार आरोपमा पक्राउ परेका झापाको बिर्तामोड नगरपालिकाका पूर्वमेयर ध्रुवकुमार सिवाकोटीलाई अदालतले पुर्पक्षका लागि कारागार चलान गर्न आदेश गरेको थियो । तर, उनी तीन महिनाभन्दा बढी समयदेखि बीएन्डसी अस्पतालको भीआईपी कक्षमै बसेर सजाय कटाइरहेका छन् । 

गत पुस २२ गते झापा जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि कारागार पठाउन आदेश गरेको थियो । तर, उनले एक दिन पनि कारागारमा बस्नु परेको छैन । उनी नेकपा एमालेका नेता हुन् । मंसिर २४ गते पक्राउ परेका उनी अनुसन्धानका क्रममा पनि हिरासत बस्नु परेन ।​
००००

यही चैत १५ गते काठमाडौंको तीनकुने क्षेत्रमा हिंसात्मक प्रदर्शन गराएर फरार भएका विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईं १७ दिनपछि शुक्रबार समातिए । 

शुक्रबार बिहान झापाको भद्रपुरबाट नियन्त्रणमा लिएका प्रसाईंलाई प्रहरीले दिउँसो काठमाडौं ल्याएर अदालत पेस र्गयो । काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले अनुसन्धानका लागि १२ दिनको म्याद दिएपछि उनी अहिले जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा छन् । 

उनीसँगै पक्राउ गरेका उनका अंगरक्षक दीपक खड्कालाई पनि अदालतले १२ दिनकै म्याद दिएको छ । खड्का पनि काठमाडौं प्रहरीको हिरासतमा छन् ।

परिसरका एक अधिकृतका अनुसार दुर्गामा तीनकुने घटनाबारे कुनै पश्चाताप छैन । उनी सबैसँग हाँसेर बोलिरहेका छन् । आफूमाथि ‘राज्य लागेको’ बताइरहेका छन् । 

‘हिरासतमा जसलाई देखे पनि हात उठाएर के छ ? ठीक छ ? भन्छन् । प्रहरीलाई देखेपछि कसैलाई सर, कसैलाई भाइ भन्छन्’, परिसरका ती अधिकृतले भने ।

००००

आइतबारदेखि सुरु हुने आइसिसी यू–१९ पुरुष क्रिकेट विश्वकप एसिया छनोटको ट्रफी सार्वजनिक गरिएको छ । खेलको पूर्वसन्ध्यामा शनिबार काठमाडौँमा नेपाल क्रिकेट सङ्घ (क्यान) द्वारा आयोजित पत्रकार सम्मेलनमार्फत ट्रफी सार्वजनिक गरिएको हो ।  

००००

पर्साको वीरगन्जमा शनिबार भएको दुई समुदायबिचको दोहोरो झडपलाई नियन्त्रणमा लिने २३ जना सुरक्षाकर्मी घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार नेपाल प्रहरीतर्फ एसपी गौतम मिश्रसहित १५ जना घाइते भएका छन् । यस्तै सशस्त्र प्रहरीतर्फ पनि ८ जना घाइते भएका छन् । सर्वसाधारणतर्फ पनि केही घाइते भएका छन् । 

झडप उग्र भएपछि प्रहरीले ७० राउण्ड अश्रुग्यास प्रहार गर्नुका साथै दुई राउण्ड हवाइ फायर समेत गरेको प्रहरीले जनाएको छ । 

यसैबीच स्थितिलाई सहज बनाउन स्थानीय प्रशासनले शनिबार साँझदेखि कफ्र्यु आदेश जारी गरेको छ ।

००००

राजधानीको तीनकुनेमा चैत १५ गते राजावादी समूहले गरेको प्रदर्शनका क्रममा ज्यान गुमाएका पत्रकार सुरेश रजकको परिवारलाई राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरूले भेटेका छन् । 

शनिबार शोकाकुल परिवारलाई भेट्न लिङ्देन, बागमती प्रदेशका सभामुख भुवन पाठकलगायत रजक निवास ताहाचल पुगेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

००००

काठमाडौंको बालाजुस्थित औद्योगिक क्षेत्रमा  शनिबार भएको आगलागी करिब एक घण्टापछि नियन्त्रणमा आएको छ । 

औद्योगिक क्षेत्रमा भएको आगलागी नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली तथा दमकलको सहायतामा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहोराले जानकारी दिए । 

००००

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा राजतन्त्र फर्किन्छ भन्ने भ्रमबाट मुक्त हुनुपर्ने बताएका छन् । आन्दोलनका नाममा बैंक डुबाउनेहरू र आगजनी गर्नेहरूले जनताले नै फ्याँकिसकेको राजतन्त्र ब्यूँताउन क्रान्ति गर्छुभन्दा उत्साहित हुनुनपर्ने उनले बताए ।

००००

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले भारतका लागि नेपाली राजदूत शंकर प्रसाद शर्मा भेट्न जाँदा आफूहरू नेपालमा राजतन्त्रको पक्षमा नरहेको भनेको बताएका छन् ।

यसअघि देउवाले दिल्लीस्थित नेपाली दूतावास पुगेर योगी आदित्यनाथले यो कुरा भनेको भनेर बोलेका थिए । तर, आफूले गलत सूचनाका आधारमा बोलेको रहेछु भन्दै देउवाले त्यसको खण्डन गरेका हुन् ।

००००

नेपाल हङकङमा जारी चारदेशीय टी–२० आई सिरिजको फाइनलमा पुगेको छ ।

हङकङको टिन क्वाङ रोड रिक्रिएसन ग्राउन्डमा शनिबार भएको घरेलु टोली हङकङसँगको खेल वर्षाले प्रभावित भएपछि नेपाल फाइनलमा पुगेको हो ।

००००

दैलेखको दुल्लु नगरपालिका वडा नम्बर ३ का वडाअध्यक्ष कुलबहादुर कार्कीविरुद्ध दैलेखकै एक महिलाले जिल्ला प्रहरी कार्यालय दैलेखमा यौन दुव्र्यवहारसम्बन्धी जाहेरी दिएकी छिन् । शुक्रबार ती महिलाले जिल्ला प्रहरी कार्यालय दैलेखमा जाहेरी दिएकी हुन् ।

salt training

कमेन्ट गर्नुहोस्