
सुनसरीको देवानगञ्जमा गोली हान्ने दुई जना पक्राउ परेका छन् । हिजो साँझ गोली चलाएर तीन जनालाई घाइते बनाएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा देवानगन्ज-१ का २७ वर्षीय रविनकुमार यादव र सोही ठाउँका २१ वर्षीय पिन्टु यादव रहेको सुनसरी प्रहरी प्रमुख एसपी सुमन कुमार तिम्सिनाले जानकारी दिए ।
उनीहरूलाई आज विराटनगरबाट पक्राउ गरेर सुनसरी ल्याएको एसपी तिम्सिनाले बताए । ‘देवानगन्जामा चोली चलाउने घटनामा ५ जनाको संलग्नता रहेको पाइएको छ । अहिले दुई जनालाई पक्राउ गरिएको छ । अझै तीन जना फरार छन् । उनीहरूको खोजी कार्य पनि हामीले तीव्र बनाएको छ ।’
गोली चलाउने कामेश्वर यादव रहेको प्रहरी स्रोतले बताएको छ । उनी फरार रहेका छन् ।
आर्थिक लेनदेनको कारणले गोली चलाएको प्रारम्भिक चरणको अनुसन्धानबाट खुलेको एसपी तिम्सिनाले बताए । ‘अहिले आर्थिक लेनदेन देखिएको छ । थप अनुसन्धानपछि विस्तृतमा जानकारी आउनेछ,’ एसपी तिम्सिनाले भने ।
प्रहरीले पक्राउ गरेको रविन यसअघि पनि विभिन्न मुद्दामा पक्राउ परेका अभियुक्त हुन । एक महिना अगाडि लागूऔषध मुद्दामा पक्राउ परेर अदालतबाट धरौटिमा छुटेका प्रतिवादी हुन् । गोली चलाउने र घाइते हुने साथीहरू हुन् ।
गोली लागेर देवानगन्ज गाउँपालिका–७ का २१ वर्षीय शिवकुमार मेहता, रविन कुमार यादव घाइते भएका थिए । घाइतेमध्ये शिवकुमारको अवस्था गम्भीर छ । उनको पेटमा गोली लागेको छ । उनको विराटनगरस्थित नोवेल मेडिकल कलेजमा उपचार भैरहेको छ ।