
शनिबार देशका तीन प्रदेशमा भारी वर्षाको सम्भावना रहेको छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
यी प्रदेशमा कृषि, दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
महाशाखाका अनुसार देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको समेत सम्भावना रहेको छ ।
हाल देशमा मुख्यतया स्थानीय वायु तथा पश्चिमी वायुको प्रभाव रहेको छ । जसको प्रभावले कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशमा आंशिकदेखि साधरणतया बदली रहेको छ । कोशी प्रदेश र बागमती प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा भइरहेको मौसमविद्हरूका जनाएका छन् ।
दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहनेछ । कोशी प्रदेश लगायत देशका पहाडी भूभागका केही स्थान र बाँकी भूभागका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
शनिबार राति कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा कर्णाली प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
कोशी, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हिमपातको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।