
पूर्वप्रधानमन्त्री तथा नेसपा नयाँ शक्ति पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले हाल शिक्षक आन्दोलन र सरकारी उदासीनताका कारण पचासौं लाख विद्यार्थीहरूको भविष्य नै जोखिममा परेको भन्दै गहिरो चिन्ता व्यक्त गरेका छन्।
फेसबुकमार्फत सार्वजनिक विचार राख्दै डा. भट्टराईले भने, "कति भयंकर विनाशकारी र क्रूर युद्ध त वार्तासम्वाद र लेनदेनबाट हल हुन्छ भने देशको अभिभावक सरकार र सबैलाई ज्ञानको ज्योति बाँड्ने गुरूहरू वीचको जुँगाको लडाइँ गम्भीर वार्ता र केही समयको अघिपछिबाट किन हल हुन सक्दैन?"
उनले सरकारप्रति प्रश्न उठाउँदै सहमति भइसकेका मागहरू तत्काल लागू गर्न र बाँकी मागहरू निश्चित समयसीमाभित्र पूरा गर्ने प्रतिबद्धता जनाउन आग्रह गरे।
त्यस्तै, शिक्षकहरूलाई पनि 'गुरू ब्रह्मा, गुरू विष्णु, गुरूदेव महेश्वर' भन्ने संस्कृत श्लोक उल्लेख गर्दै आफ्नो जिम्मेवारीबोध गर्न आह्वान गरे। उनले १२ कक्षाको परीक्षा र विद्यार्थी भर्ना अभियान जस्तो संवेदनशील समयमा आन्दोलनबाट एक कदम पछि हट्न सकिने सुझाव दिएका छन्।
डा. भट्टराईले चेतावनी दिँदै भने, "यो जुँगाको लडाइँले पहिले नै तहसनहस भैसकेको सार्वजनिक शिक्षाको दाहसंस्कार हुन पुग्यो र देश युवाविहीन हुन पुग्यो भने इतिहासले कसैलाई क्षमा गर्नेछैन।"