
पूर्व-पश्चिम राजमार्गको बुटवल-नारायणगढ सडक खण्ड अवरुद्ध भएको छ ।
राजमार्गअन्तर्गतकाे दाउन्नेमा मंगलबार दिउँसो सुक्खा पहिरो खस्दा राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको हो ।
सडक विस्तारका क्रममा पहाड काट्ने र पर्खाल लगाउने काम चलिरहेका बेला सुक्खा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।
इलाका प्रहरी कार्यालय दुम्कीबासका इन्स्पेक्टर राजन तिमिल्सेनाले सडक खुलाउने प्रयास भइरहेको जानकारी दिए । 'काम भइरहेका बेला सडक भासिएको छ, अहिले सडक खुलाउने प्रयास भइरहेको छ,' उनले भने ।
दाउन्ने सडक खण्डको विश्वकर्मा बाबाको मन्दिर नजिकै पहिरो गएको हो ।
पहिरो खसेपछि साना सवारी र यात्रुवाहक बसका यात्रुलाई झारेर सवारी पास गराइएको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका प्रमुख प्रहरी उपरीक्षक यादव ढकालले बताए ।
सडक अवरुद्ध भएपछि मालवाहक र ठूला सवारीलाई पूर्वतर्फ दुम्कीबास र पश्चिमतर्फ बर्दघाटमा रोकिएको छ ।