
नेकपा माओवादी केन्द्रले भारतको जम्मू-कश्मीरमा भएको आततायी घटनाप्रति घोर भत्सर्ना गरेको छ ।
बुधबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता अग्निप्रसाद सापकोटाले जम्मू-कश्मीरमा भएको अतिवादी हमलामा नेपाली नागरिक सुदीप न्यौपानेसहित पर्यटकहरूको हत्या भएको घटनाप्रति आफ्नो पार्टीको घोर भत्सर्ना गरेको बताए ।
जम्मू-कश्मीरको अनन्तनाग जिल्लास्थित पहलगाममा मंगलबार दिउँदो भएको भएको आतंकवादी हमलाले विश्वलाई स्तब्ध बनाएको छ ।
हमलामा बुटवलका सुदीप न्यौपानेसहित २८ जनाको मृत्यु भएको छ भने २० भन्दा बढी घाइते भएका छन् ।
द रेसिस्टेन्स फ्रन्ट (टीआरएफ) पाकिस्तानमा आधारित लश्कर-ए-तैयबाको एक शाखाले उक्त हमलाको जिम्मेवारी लिएको लिएको छ ।
यो घटना २०१९ को पुलवामा हमला पछिको सबैभन्दा घातक आतंकवादी हमलामध्ये एक मानिएको छ । आक्रमणमा आतंककारीहरूले हिन्दू र मुस्लिम पर्यटकहरूलाई छुट्याउन क्रूर र अमानवीय तरिका अपनाएको भारतीय रक्षा मन्त्रालयले जनाएको छ ।
यो हमला मंगलबार दिउँसो २ बजेर ५० मिनेट जाँदा पहलगामको बैसारन मिडोमा भएको थियो । उक्त स्थान एक लोकप्रिय पर्यटकीय स्थल हो ।
यो क्षेत्र पैदल वा घोडा चढेर मात्र पुग्न सकिन्छ । यही कारण आतंककारीले यसलाई हमलाका लागि उपयुक्त ठाउँ बनाएका थिए ।
ठीक त्यही बेला चारदेखि ६ जनाको संख्यामा रहेका आतंककारीले स्वचालित हतियार बोकेर पर्यटकहरूमाथि आकस्मिक आक्रमण गरे ।
कश्मीरमा भारतले कथित रूपमा ‘जनसांख्यिकीय परिवर्तन’ ल्याउन खोजेको भन्दै त्यसको विरोधका रूपमा यो हमला गराएको आतंककारीको भनाइ छ ।
उनीहरूले ८५ हजारभन्दा बढी बाहिरी मानिसलाई कश्मीरमा बसोबास गराइएको आरोप लगाएका छन् ।