
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
भारतको जम्मू–कश्मीरको पहलगाममा भएको आतंकवादी आक्रमणमा मृत्यु भएका बुटवलका सुदीप न्यौपानेको शव बिहीबार बिहान बुटवलस्थित घरमा ल्याइएको छ ।
रुपन्देही प्रहरी प्रवक्ता सुरज कार्कीले सुनौली नाका हुँदै सुदीपको शव बिहीबार बिहान घरमा ल्याइएको जानकारी दिए ।
उनको पार्थिव शरीर बिहीबार नै अन्त्येष्टि गर्ने तयारी छ । रुपन्देहीको बुटवल उपमहानगरपालिका १४ घर भए पनि उनी बुटवल ११ मा बस्दै आएका थिए ।
००००
भारतको जम्मू–कश्मीरको पहलगाममा भएको आतंकवादी हमलापछि भारतले पाकिस्तानसँगको सिन्धु जल सन्धि निलम्बन गरेको छ । बुधबार साँझ प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बसेको सुरक्षासम्बन्धी मन्त्रिपरिषद् समिति (सीसीएस)को बैठकले सिन्धु जल सन्धि निलम्बन गरेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
००००
प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग टेलिफोन वार्ता गर्दै जम्मू–कश्मीरको पहलगाममा भएको आतंकवादी हमलाको विरुद्धमा एकजुट हुने प्रतिबद्धता व्यक्त गरेका छन् ।
भारतीय परराष्ट्र मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले सामाजिक सञ्जाल एक्समा एक पोस्ट गर्दै दुवै नेताबीच आतंकवादविरुद्ध एकजुट हुने सहमति भएको जनाएका छन् ।
००००
जम्मु कश्मीरको पहलगाममा निर्दोष पर्यटकहरूमाथि भएको बर्बर आतङ्कवादी हमलाको सरकारले कडा शब्दमा निन्दा गरेको छ ।
परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै शोकसन्तप्त परिवारहरूप्रति गहिरो समवेदना तथा घाइतेहरूको शीघ्र एवं पूर्ण स्वास्थ्यलाभको कामना गरेको छ । यस्तै विभिन्न दलले पनि विज्ञप्तिमार्फत निन्दा गरेका छन् ।
००००
काठमाडौँको तीनकुनेमा गरिएको प्रदर्शन, तोडफोड, आगजनीलगायत घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका राप्रपा नेता रवीन्द्र मिश्र, मेडिकल व्यवसायी दुर्गा प्रसाईंलगायत २४ जनामाथि अनुसन्धान गर्न तीन दिनको म्याद थप भएको छ ।
काठमाडौँ जिल्ला अदालतमा आज उनीहरूलाई पेस गरिएकामा अदालतले अनुसन्धानका लागि तीन दिनको म्याद थप गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।
००००
ऊर्जा, जलस्रोत तथा सिचाइँ राज्यमन्त्री पूर्णबहादुर तामाङ पदमुक्त भएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफरिसमा आज गरेको मन्त्रिपरिषद् पुनः गठनका क्रममा राज्यमन्त्री तामाङ पदमुक्त भएका हुन् ।
राष्ट्रपति पौडेलले प्रधानमन्त्री ओलीको सिफारिसमा आज शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा रघुजी पन्तलाई नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । पुनर्गठितसँगै मन्त्रिपरिषद् २४ सदस्यीय बनेको छ ।
००००
नेकपा (माओवादी केन्द्र)को सहायक संगठन योङ्ग कम्युनिष्ट लिग (वाईसीएल) नेपालको तेस्रो राष्ट्रिय सम्मेलन आगामी जेठ १७ गतेदेखि १९ गतेसम्म काठमाडौंमा हुने भएको छ ।
आज राजधानीमा पत्रकार सम्मेलन गरी तेस्रो राष्ट्रिय सम्मेलनबारे जानकारी गराइएको हो । राष्ट्रिय सम्मेलन नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौंमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आतिथ्यतामा हुने बताइएको छ ।
००००
उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पुँजीगत खर्च गर्ने दायित्व सम्बन्धित मन्त्रालयहरूको भएको बताएका छन् ।
‘अहिलेसम्म सम्पूर्ण पूँजीगत खर्चको दायित्व अर्थ मन्त्रालयको जस्तो भएको छ,ु अर्थ मन्त्रालयमा आयोजित मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा अर्थमन्त्री पौडेलले भने, ‘अर्थ मन्त्रालयले स्रोतको व्यवस्थापन र सहजीकरण गर्ने हो । विनियोजित बजेट कार्यान्वयन तथा खर्चको प्रगति हासिल गर्ने जिम्मेवारी सम्बन्धित मन्त्रालयको हो ।’
००००
आफूलाई अभियन्ता बताउने शर्मिला वाइबालाई आक्रमण गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
वैशाख ३ गते साँझ साढे पाँच बजे गोठाटारस्थित पहेंलोपुल नजिकै मन्दिर अगाडि वाइबामाथि ज्यान मार्ने उद्देश्यले फलामको रड प्रहार भएको प्रहरीले जनाएको छ ।
००००
सरकारले सहसचिव चन्द्रकला पौडेललाई सचिवमा बढुवा गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रशासन सेवा समूहीकरणतर्फको राजपत्रांकित विशिष्ट श्रेणीको रिक्त पदमा पौडेललाई बढुवा गर्ने निर्णय गरेको हो ।
००००
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।
यसअघि यही वैशाख १७ गते दिउँसो १ बजे केन्द्रीय कार्यालयमा सानेपामा बस्नेगरी बैठक बोलाइएको थियो ।
००००
साताको पहिलो कारोबारका दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) दोहोरो अङ्कले घटेको छ ।
बुधवार नेप्से परिसूचक ३२.३८ अङ्कले घटेर २६४४.९४ विन्दुमा कायम भएको हो ।
००००
नेकपा माओवादी केन्द्रले वर्तमान सरकारलाई एकदिन पनि सत्तामा रहने नैतिक अधिकार नरहेको टिप्पणी गरेको छ ।
बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता अग्नि प्रसाद सापकोटाले सरकारले राजनीतिक रूपमा आफ्नो वैधानिकता गुमाइसकेको बताए ।