
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाहले काठमाडौं महानगरपालिका-२८ मा बनिरहेको काठमाडौं टावरको भवन नक्सापासको प्रक्रियामा धेरै गम्भीर त्रुटीहरू भेटिएका बताएका छन् ।
महानगरलाई आर्थिक क्षति पुर्याइ केही सीमित व्यक्तिहरूको नाफाका लागि नीतिगत भ्रष्टाचार भएका उनले उल्लेख गरेका छन् । यसका विभिन्न प्रमाण महानगरमा सुरक्षित रहेका र चाहिएमा हरेक नागरिकले सूचनाको हक प्रयोग गरेर लैजान सक्ने बालेनले बताएका छन् ।
बिहीबार दिउँसो सामाजिक सञ्जाल फेसबुकमा लामो वक्तव्य जारी गर्दै उनले महानगरलाई वार्षिक एक अर्बभन्दा बढी क्षति हुनेगरी यसअघि सम्झौता भएका र नीतिगत भ्रष्टाचार भएको उल्लेख गरेका छन् ।
‘यसको पूर्ण जानकारी नपाउँदा तपाईंलाई लाग्न सक्छ, जाबो नक्सापासकै कुरा त हो, कति लम्ब्याएको ! तर, यो त्यति सामान्य छैन । यो भवन र नक्सापासको पछाडि धेरै कुरा छन्’, बालेनले लेखेका छन्, ‘कुनै एक घोटलाका लागि कसरी नीतिगत भ्रष्टाचार हुन्छ, कसरी कर्मचारीहरू परिचालन हुन्छन् र कसरी जनप्रतिनिधिहरू पनि प्रभावित बन्छन् भन्ने यो एक नक्सापासको विगत, वर्तमान र उद्देश्यले देखाउन सक्छ ।’