
जनकपुरधाम १४ मंसिर– मंसिर २१ गते हुन गईरहेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि आम मतदाताहरु मतदान गर्न अत्यन्तै उत्साहित देखिएका छन् । स्थानीय तहको निर्वाचनमा समेत उल्लेख्य रुपमा मतदान भएको हुनाले पनि २१ गते हुने निर्वाचनका लागि आम मतदाताहरु मतदान गर्न तयार देखिएका छन् । तर, मतदान कसरी गर्ने भन्ने विषयमा मतदाताहरुमा बढी चेतना देखिँदैन ।
मतदान गर्नका लागि राजनीतिक दलहरुले वा उम्मेदवारहरुले समेत घर घरमा गएर मतदाता शिक्षा दिन सकेका छैनन् । जनकपुर उपमहानगरपालिका १२ का बैद्यनाथ कुमार खाङ भन्छन,“ मतदान गर्न तयार छु । तर, कसैले आएर मतदान कसरी गर्ने हो भन्ने कुरा सिकाएका छैनन् ।” मेरो गाउँ कुवा जनकपुर उपमहानगरपालिकामा भएपनि गाउँका मतदाताहरु प्रायः महिलाहरु अशिक्षित भएकाले मतदान कसरी गर्ने भन्ने प्रशिक्षण नदिएकाले अधिकांश मतहरु बदर हुने हो कि भन्ने खाङको चिन्ता देखिएको छ ।
१४ मंसिर २०७४ मा जनकपुर उपमहानगरपालिका १२ को कुवा गाउँमा लोकान्तर डट कमले प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन २०७४ को लागि मतदाता शिक्षा सचेतना अन्तरक्रिया कार्यक्रम आयोजन गर्दा उपस्थित भएका अधिकांश सहभागीहरुले राजनीतिक दल र तिनका उम्मेदवारहरुले आआफ्नो पार्टीको प्रचार प्रसार गरेपनि मतदान कसरी गर्ने भन्ने कुरा कसैले पनि नसिकाएको जिकिर गरेका थिए । लोकान्तर डट कमले ती मतदाताहरुलाई मतदान गर्ने प्रक्रिया विषयमा प्रशिक्षित गरेपछि मात्र आफ्नो मत अब बदर नहुने सहभागीहरुले विश्वास व्यक्त गरेका थिए ।
जनकपुर उपमहानगरपालिका १२ कि उर्मिला पंडित स्थानीय तहको निर्वाचनमा मतदान गरेका थिए । तर, यसपटक हुने निर्वाचनमा मत पत्र कस्तो हुने, मत पेटिका कति वटा हुने, कहाँ कसरी मतदान गर्ने विषयमा अनभिज्ञ थिईन । सोही गाउँका बुधनी देवी मुखियालाई भने निर्वाचन आयोगबाट खटिएको सामाजिक परिचालकले मतदान कसरी गर्ने भनेर घरमा आएर सिकाएको भएपनि पछि गएर निर्वाचन दिन विर्सने हो कि भन्ने डर समेत सताउने गरेको छ ।
विवेकानन्द झाका अनुसार अहिले गाउँमा खेतीपातीको समय भएको र खेतमा धान काट्ने समय भएकाले पनि मतदाताहरु मतदानका विषयमा सिक्न इच्छुक भएपनि समय अभावले अधिकांश मतदाताहरु मतदाता शिक्षाबाट बञ्चित हुनु परेको बताउँछन् । राजनीतिक दलका उम्मेदवारहरु घर दैलो त गरिरहेका छन् तर मतदान कसरी गर्ने भनेर नसिकाएको बुधनी देवी मुखिया बताउँछन् ।
निर्वाचन आयोगबाट खटिएकी सामाजिक परिचालिका पुनिता देवी यादवलाई के समस्या परेको छ भने घरदैलोमा पुगेर मतदाता शिक्षाबारे भन्न जाँदा भोट माग्न आएको हो, पैसा देऊ समेत भनेर मतदाताहरुले हैरान पार्ने गरेको छ । अन्तरक्रिया कार्यक्रम आयोजन गर्यो भने नास्ता, भत्ता समेत देउ अनि मात्र आउने भनेर मतदाताहरुले भन्ने गरेकाले घरदैलोमा पुगेर नमुना मतदानबारे प्रशिक्षण दिईरहेको पुनिताले बताईन ।