![यसपटक हार्ने पालो विष्णु पौडेलको हो : युवराज गिरी [भिडियोसहित]](https://lktcdn2.prixacdn.net/media/bishnu-poudel-giri-rupandehi2_LYM8Qogk0j.png)
रुपन्देही, १४ मंसिर – रुपन्देहीको क्षेत्र नम्बर दुईमा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार रहेका युवराज गिरीले यस पटक चुनाव हार्ने पालो एमाले नेता विष्णु पौडेलको भएको बताएका छन् । गिरीले मंसिर २१को चुनाव आफूले जित्ने दाबी गरे ।
एमाले नेता विष्णु पौडेलले यो क्षेत्रबाट दुई पटकसम्म चुनाव जितेर बुटवलका जनताका लागि केही पनि गर्न नसकेको आरोप लगाउँदै गिरीले जनताले यसपटक आफूलाई रोज्नेमा विश्वस्त रहेको बताए ।
‘पौडेलजी कुनै पार्टीको ठूलो नेता हुँदै गर्दा बुटवलमा केही पनि काम भएको छैन,’ गिरीले भने ‘यसपटकको चुनाव मैले जित्छु ।’
पौडेलले रुपन्देहीमा दुई पटक जितेको भएपनि त्यो भन्दा अघि नेपाली कांग्रेसका बालकृष्ण खाँड र सूर्यप्रसाद प्रधानले चुनाव जितेको उल्लेख गर्दै कांग्रेसको परानो गढलाई स्थापित गर्ने दाबी गरे ।
उनले आफू ०३६ सालदेखि बुटवलमा बसेर हरेक आन्दोलनको अग्रपंक्तिमा रहँदै काम गरेको समेत दावी गरे । गिरीले आफू यहाँका जनतासँग परिचित र समिपमै बसेर काम गरिरहेकोले यसपालीको चुनाव आफूले जित्ने उनको दावी गरे ।
उनले चुनाव जितेसँगै जनतालाई सस्तो व्याजमा ऋण दिने, धागो कारखाना संचालन गरेर एक हजार युवाहरुलाई रोजगारी दिने लगायतका योजना समेत आफूसँग रहेको बताए । कांग्रेसले जे बोल्छ त्यहि गर्ने भएको कारणले पनि यसपालीको चुनाव आफूले जित्ने उनको दाबी छ ।
तर, एमाले उम्मेदवार रहेका वाम गठवन्धनका उम्मेदवारसमेत रहेका एमाले प्रभावशाली नेता विष्णु पौडेलले भने आफ्नो जीतको घोषणा हुन मात्रै बाँकीरहेको बताएका छन् ।
लोकान्तरसँगको कुराकानीमा उनले कसलाई मत दिने भनेर मतदाताले निश्चय गरिसकेकोले यसपटकको चुनावपनि आफूले जित्ने दाबी गरेका हुन् ।