०७ साउन २०८३, बिहीबार

गुटको विरासत सहजै हस्तान्तरण नगर्ने मानसिकतामा देउवादेखि गगन थापासँग लिखित जवाफ मागसम्म

बैशाख १७, २०८२
काठमाडौं
गुटको विरासत सहजै हस्तान्तरण नगर्ने मानसिकतामा देउवादेखि गगन थापासँग लिखित जवाफ मागसम्म

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–

चौतर्फी घेराबन्दी र दबाबका बावजुद नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गुटको विरासत सहजै हस्तान्तरण नगर्ने मानसिकता बनाएका छन् । 

भावी नेतृत्वका लागि नेता विशेषलाई अगाडि सार्न वा वचन दिन समूह भित्रैबाट दबाब छ । तर, १५ औं महाधिवेशनमा पुनः सभापतिमा दाबेदारी गर्न नमिल्ने अवस्थामा रहेका देउवा अहिले नै विरासतको उत्तराधिकारी तोकिहाल्ने पक्षमा देखिएका छैनन् । 

लामो समयदेखि नजिकबाट साथ दिएकै नेताका कारण देउवाले कोइराला विरासत ढालेर दुईपटक सभापति जितेका थिए । बलियो गुटबन्दीको अभ्यास गर्दै देउवाले पार्टीमा प्रभाव पनि जमाए । यसक्रममा सभापति नहुँदै देउवा २०५२, २०५८ र २०६१ मा गरी ३ पटक तथा सभापति भएपछि २ पटक गरी ५ पटक प्रधानमन्त्री भइसकेका छन् । अझै १ पटक प्रधानमन्त्री बन्ने तयारीमा छन् ।

देउवालाई नजिकबाट साथ दिएका धेरै नेताले छिटोभन्दा छिटो समूहको नेता तोकिदिन दबाब बढाएका छन् । तर, देउवा टसकोमस हुने स्थितिमा छैनन् ।

००००

सर्वोच्च अदालतले मानसिक स्वास्थ्य सेवालाई शारीरिक स्वास्थ्य सरह समान प्राथमिकता दिन र यस क्षेत्रमा छुट्टै प्रशासनिक संरचना स्थापना गर्न सरकारलाई परमादेश जारी गरेको छ । 

स्वास्थ्य सेवा विभाग अन्तर्गत संघ तथा प्रदेशमा समेत छुट्टै मानसिक स्वास्थ्य महाशाखा स्थापना गर्न सर्वोच्चले परमादेश  जारी गरेको हो ।

००००

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहिद र बेपत्ता भएका परिवारका मागलाई पार्टीले गम्भीरतापूर्वक लिएको बताएका छन् । 

मंगलबार धनगढी उपमहानगरपालिका–१८ फूलबारी डिपो बजारमा आयोजित सहिद परिवारहरूसँग भेटघाट तथा अन्तक्रिया कार्यक्रममा उनले सशस्त्र युद्ध सफल पार्न सहिद एवं बेपत्ता भएका व्यक्तिको महत्त्वपूर्ण योगदान रहेको स्मरण गरे ।

००००

नेपाल प्रहरीले सूचना प्रवाहका लागि प्रयोगमा रहेका डिजिटल बोर्डहरू ह्याक हुने घटनामा वृद्धि भइरहेको भन्दै आम नागरिक र सम्बन्धित संस्थालाई सावधानी अपनाउन आग्रह गरेको छ।

प्रहरीका अनुसार, यस्ता बोर्डहरूमा अझै पनि ‘डिफल्ट युजरनेम र पासवर्ड’ अथवा अत्यन्तै कमजोर पासवर्डहरू प्रयोग गरिने गरेको पाइन्छ, जसले गर्दा साइबर सुरक्षामा ठूलो जोखिम उत्पन्न भएको छ।

००००

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा बाबुराम भट्टराईले भारत सरकारबाट नेपालका प्रतिगामी शक्तिहरूलाई उक्साउने गतिविधि नभएको बताएका छन् । 

मंगलबार भारत भ्रमणबाट स्वदेश फर्किएका डा।भट्टराईले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै भारत सरकार र भारतका मुख्य शक्तिहरूबाट यहाँको व्यवस्थालाई नै उल्ट्याउने ढंगले प्रतिगामी शक्तिहरूलाई उक्साउने गतिविधिमा नभएको बताएका हुन् ।

००००

नेपाल प्रहरीमा ६ जना एआईजी (अतिरिक्त महानिरीक्षक) नियुक्त भएका छन् ।

बढुवा सिफारिस समितिको सिफारिस अनुसार सोमबारको मन्त्रिपरिषद् बैठकले उनीहरूलाई डीआईजीबाट एआईजीमा नियुक्त गरेको हो ।

००००

कोशी प्रदेश सरकारले लगानी सम्मेलनको पूर्वसन्धामा विभिन्न आठ अध्यादेश ल्याउने निर्णय गरेको छ । 

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले केही ऐन संशोधन गर्नका लागि अध्यादेश ल्याउने निर्णय गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले जानकारी दिए ।  

००००

आन्दोलनरत शिक्षक महासंघ र सरकारबीचको वार्ता सहमति नजिक पुगेको छ । मंगलबार अबेर रातिसम्म चलेको वार्ता सहमति नजिक पुगेको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले जानकारी दिए । 

शिक्षकसँगको वार्ता छिटो टुङ्गो लगाउन लागिएको उनले बताए । ‘हामी शिक्षकहरूसँग वार्तामा छौं। वार्ता सकारात्मक ढंगले अघि बढिरहेको छु, उनले भने,  ‘सम्भव भएसम्म हामी त्यसलाई छिटो टुंग्याउन प्रयत्न गर्छौँ ।’

००००

काठमाडौं महानगरपालिकाले कक्षा १ देखि १० सम्म १० प्रतिशत छात्रवृत्ति उपलब्ध गराउन महानगरअन्तर्गतका संस्थागत विद्यालयहरूलाई परिपत्र गरेको छ । 

त्यसरी उपलब्ध गराइने छात्रवृत्ति जेहेन्दार, विपन्न, असहाय तथा गरिब, अपाङ्ग, महिला, दलित, जनजाती, द्वन्द्वपिडीत र शहीद परिवारका विद्यार्थीलाई समावेशी आधारमा छात्रवृत्ति उपलब्ध गराउनुपर्ने महानगरले भनेको छ ।

००००

पोखरा विमानस्थल आयोजनामा भ्रष्टाचार भएको भन्दै यतिबेला प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिअन्तर्गत गठित राजेन्द्र लिङ्देन नेतृत्वको उपसमितिले बुझाएको प्रतिवेदनमाथि प्रश्न उठिरहेको छ ।

लिङ्देनको संयोजकत्वमा लेखिएको उक्त प्रतिवेदनमा एमाले सांसदहरूले थप राय दिएका छन् । उनीहरूले प्रतिवेदन राजनीतिक स्वार्थप्रेरित रहेको र प्रतिवेदनमा लगाइएका कतिपय आरोप पुष्टि नहुने भन्दै फरक मत राखेका हुन् ।

प्रतिवेदनमा विमानस्थल निर्माणमा भएको अनियमितता र समस्याबारे ६ वटा निष्कर्ष छन् । तर, कतिपय निष्कर्ष पर्याप्त अध्ययनविना नै निकालेको देखिन्छ । लोकान्तरलाई प्राप्त प्रतिवेदनको अंश र थप कागजपत्रले निर्णय अर्कैले गरेको र आरोपित अर्कैलाई गर्ने प्रयास गरिएको पुष्टि गर्छन् ।

००००

सर्वोच्च अदालतले अदालतको अवहेलना मुद्दामा नेपाली कांग्रेसका महामन्त्री गगन थापासँग लिखित जवाफ माग गर्ने आदेश गरेको छ ।

सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश नित्यानन्द पाण्डेयको संयुक्त इजलासले मंगलबार लिखित जवाफ माग गर्ने आदेश गरेको हो ।

००००

प्रतिनिधिसभाको मंगलबारको बैठकले ‘भन्सारसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८१’ बहुमतले पारित गरेको छ । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त विधेयक पारित गरियोस् भनी प्रस्ताव पेश गरेका थिए ।

००००

मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावट आएको छ ।

मंगलबार प्से परिसूचक १५ दशमलव ०८ अंकले घटेर दुई हजार ६३१ दशमलव ९८ को विन्दुमा कायम भएको हो ।

कमेन्ट गर्नुहोस्