
जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले पार्टी एकता भाँड्नका लागि घोषणास्थलबाट रेशम चौधरी पक्राउ पर्नु गम्भीर षडयन्त्र भएको आरोप लगाएका छन् । उनले यसलाई कर्मचारीको त्रुटि भन्दा पनि षडयन्त्रको रूपमा लिएको बताए ।
सर्वोच्च अदालतका एक कर्मचारीले लेखेको फर्जी पत्रले केही घण्टा जेल पुगेका रेशम चौधरीलाई रिहा गराउन डिल्लीबजार कारागार पुगेका राउतले पार्टी एकता भाँड्नकै लागि पक्राउ गरिएको आरोप लगाएका हुन् ।
‘रेशम चौधरीको पक्राउलाई एकता भाँड्ने प्रयत्न र ठूलो षडयन्त्रका रूपमा लिएका छौं । अहिले मिटिङ बसेर छलफल गर्छौं’, राउतले भने । पार्टी एकता छिट्टै हुने पनि उनले बताए ।
यसअघि पार्टी एकता घोषणाको पूर्वसन्ध्यामा नागरिक उन्मुक्ति पार्टीका संस्थापक नेता बुधबार दिउँसो चौधरी पक्राउ परेका थिए । रेशम पक्राउपछि बुधबारका लागि तय भएको पार्टी एकता घोषणा कार्यक्रम स्थगित भएको थियो ।