२१ जेठ २०८३, बिहीबार
अवतरणको बाटोमा शिक्षक आन्दोलन

ऐन जारी गर्न दलका सचेतकले प्रतिबद्धता जनाउने, आजै राति संयुक्त निर्णय सार्वजनिकको तयारी

बैशाख १७, २०८२
काठमाडौं
ऐन जारी गर्न दलका सचेतकले प्रतिबद्धता जनाउने, आजै राति संयुक्त निर्णय सार्वजनिकको तयारी

नेपाल शिक्षक महासंघसँग सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसका प्रमुख सचेतकले विद्यालय शिक्षा ऐन जारी गर्ने प्रतिबद्धता जनाउने भएका छन् ।

करिब एक महिनादेखि काठमाडौं केन्द्रित शिक्षकहरूको आन्दोलन अन्त्य गर्न दलका प्रमुख सचेतकले ऐन जारी गर्ने प्रतिबद्धता जनाउने भएका हुन् । त्यति मात्र होइन सरकारले समेत आजै बस्ने मन्त्रिपरिषद् बैठकबाट शिक्षकका माग सम्बोधनका लागि महत्त्वपूर्ण निर्णय गर्नेछ ।

जसका लागि अहिले सिंहदरबारबाट शिक्षा,  विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त र गृहमन्त्री रमेश लेखक मन्त्रिपरिषद् बैठकका लागि बालुवाटार पुगेका छन् । शिक्षकसँग मोटामोटी सहमति जुट्ने स्थिति भएपछि उनीहरू मन्त्रिपरिषद् बैठकका लागि बालुवाटार पुगेका हुन् ।

एमाले प्रमुख सचेतक महेश बर्तौलाले धेरै कुरामा शिक्षकहरूसँग सहमति हुने बाटोमा रहेको बताए । 

‘हामी कांग्रेस र एमालेले शिक्षा ऐन जारी गर्न शिक्षक महासंघसँग प्रतिवद्धता जनाउँछौं । धेरै कुरामा शिक्षकहरूसँग सहमति हुने बाटोमा छौं । संसद्को पाटोबाट हामी गर्न सक्ने कुरामा प्रतिवद्धता जनाउने, मन्त्रिपरिषद्ले तत्काल गर्न सक्ने कुरा घोषणा गर्ने र शिक्षा विधेयक टुंगोमा पुर्‍याउने एउटा प्रतिबद्धताको वरिपरि सहमतिको प्रयासमा छौं’, बर्तौलाले लोकान्तरसँग भने, ‘आजै राति मोटामोटी जुटेको सहमतिमा मन्त्रिपरिषद् बैठकले सहमति गर्नेछ । त्यसपछि संयुक्त रूपमा निर्णय सार्वजनिक गर्नेछौं ।’

विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने लगायतका माग राखेर देशभरका सामुदायिक विद्यालयका शिक्षक गत चैत २० गतेदेखि काठमाडौंमा सडक आन्दोलन गरिरहेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्