२४ जेठ २०८३, आइतबार
पोखरीमा डुबेर दाजुभाइको मृत्यु

कुँवर परिवारमा एकपछि अर्को वज्रपात : ​दाजु गुमाएको केही दिनमै विष्णुले गुमाए २ सन्तान​

अधुरै रह्यो दिप्सन र विप्सनलाई डाक्टर बनाउने सपना
बैशाख २०, २०८२
बुटवल
कुँवर परिवारमा एकपछि अर्को वज्रपात : ​दाजु गुमाएको केही दिनमै विष्णुले गुमाए २ सन्तान​

पश्चिम नवलपरासी (बसुप)को सुनवल नगरपालिका वडा नम्बर–६ पुलचोकका विष्णु कुँवरलाई शुक्रबार ठूलो वज्रपात पर्‍यो । ज्याला मजदुरी गरेर हुर्काएका दुई छोरा सामुदायिक वनको  संरक्षणमा रहेको पोखरीमा डुबेर अकालमा निधन भएपछि पुलचोक शोकमा डुबेको छ ।

१० वर्षका विप्सन र ८ वर्षका दिप्सन सधैंका लागि चुँडिएपछि विष्णुको परिवार मुर्छित भएको छ । दुई सन्तानलाई राम्रो शिक्षा/दीक्षा दिलाउने अभिलाषा बोकेर वैदेशिक रोजगारीमा रहेकी फूलमतिको काख स्वदेश नफर्किँदै रित्तिन पुगेको छ । 

परिवारमा परेको वज्रपातको विष्णुले श्रीमती फूलमतिलाई जानकारी गराउन समेत सकेका छैनन् । 

सधैं दुई छोरालाई घरमा छाडेर काममा जाने विष्णुले यस्तो होला भनेर कल्पनासमेत गरेका थिएनन् ।

दिप्सन र विप्सनले ​आफूहरू ठूलो भएर बाबा-आमा सुख दिने बताउँदै आएका थिए । 

छोराहरूलाई राम्रो स्कूलमा पढाएर डाक्टर बनाउने कुँवर दम्पतीको सपना थियो । तर सपनाले कोपिला लगाउन नपाउँदै सधैंका लागि अस्ताउन पुगेको छिमेकी खगेश्वर भुसाल बताउँछन् ।​ 

शिक्षकहरूको लामो आन्दोलनपछि शुक्रबार विद्यालय खुले पनि आइतबारबाट पढाई हुने भएकाले उनीहरू घरमै थिए ।

बढ्दो गर्मीसँगै शीतलताका लागि दिउँसोसम्म घरमै खेलिरहेका छोराहरू अकस्मात् घरदेखि केही टाढा रहेको पोखरामा डुबेको अवस्था फेला परे ।

गर्मीको बेला पौडी खेल्न पोखरीमा पसेका उनीहरू अन्ततः त्यहाँबाट निस्कन सकेनन् । दिप्सन तैरिएको अवस्थामा र विप्सन डुबेको अवस्थामा पोखरीमा भेटिएका ​वडा अध्यक्ष हिमलाल शर्माले बताए । ‘पोखरी नजिकै कपडा र चप्पल देखिएपछि उनीहरू पौडी खेल्न गएका रहेछन् भन्ने अनुमान भयो,’ शर्माले लोकान्तरसँग भने, ‘एक जना पानीमा तैरिएको अवस्था देखिए अर्काको पनि कपडा त्यहीँ भेटिएकाले पानी सुकाएर हेर्दा डुबेको अवस्थामा मृत भेटिए । अहिले गाउँ शोकमा डुबेको छ ।’​

उनीहरू स्थानीय जनसेवा माध्यमिक विद्यालयमा कक्षा ४ र कक्षा २ मा अध्ययनरत विद्यार्थी थिए ।

मजदुरी गरेर हुर्काएका दुई छोरा दैवले खोसेपछि विष्णुको काख रित्तिएको छिमेकी भुसालले बताए । ‘घरमा बुढा भएका हजुरबुवा-हजुरआमा थिए,’ खगेश्वरले लोकान्तरसँग भने, ‘आमा विदेशमा छिन्, केही दिन अगाडि विष्णुका दाजुको पनि दुर्घटनामा परेका मृत्यु भएको थियो । कुँवर परिवारमा अहिले वज्रपात माथि वज्रपात थपियो ।’

जीवनमा के र कहिले भोग्नपर्छ भन्ने कुराको टुंगो नभएको उनले बताए । ‘जीवनमा के भोग्न लेखेको छ, कसलाई नै पो थाहा छ र ? विष्णुलाई आज दैवले रुवाएको छ । दुई छोराका पिता सन्तानविहीन बनेका छन्,’ उनले दुखद घटना सुनाउँदै भने ।

इलाका प्रहरी कार्यालय सुनवलका प्रहरी निरीक्षक सन्तोष पौडेलका अनुसार उक्त पोखरीमा अन्य युवाहरू पनि खासै नजाने भएकाले घटना भएको देखिएको छ ।

तराईका जिल्लामा पौडी खेल्न जाँदा बालबालिका डुबेर मृत्यु हुने क्रम बढ्दै गएको इन्स्पेक्टर पौडेलको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्