
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारले ल्याएको नीति तथा कार्यक्रम राम्रो भएका र अब कार्यान्वयन प्रक्रियामा चुक्न नहुने बताएका छन् ।
आज चितवनमा पत्रकारसँग कुराकानी गर्दै उनले नीति तथा कार्यक्रम राम्रो ल्याउने तर कार्यान्वयनका पक्षमा काम गर्न नसक्ने पहिलेदेखि नै सरकारको कमजोरी भएको बताए ।
डा. कोइरालाले भने, 'नीति तथा कार्यक्रम राम्रो छ तर कार्यान्वयन पक्षमा ध्यान दिनुपर्छ । सधैं नीति तथा कार्यक्रम कार्यान्वयन फितलो हुँदा समस्या हुने गरेको छ । अब यसलाई कार्यान्वयन गर्ने गरी बजेटमा आउनुपर्छ ।'
फरक प्रसङ्गमा उनले कांग्रेसको १५औं महाधिवेशन तोकिएको समयभित्रै गर्नुपर्ने बताए ।
महाधिवेशनले पार्टीलाई एकताबद्ध बनाउने र गुटको अन्त्य गर्ने भन्दै उनले महाधिवेशन पछि सार्नुको कारण नरहेको बताए । अधिवेशनले पार्टीलाई जुझारु बनाउने भन्दै उनले हाल भ्रातृ संस्थाको अधिवेशन नहुँदा पार्टी शिथिलतातर्फ गएको दाबी गरे ।