
नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रगतिशील, व्यावहारिक र जनमुखी भएको निष्कर्ष निकालेको छ ।
आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेका पार्टीको संसदीय दलको बैठकले नीति तथा कार्यक्रमले देशमा व्याप्त रहेको निराशा हटाउन, जनतामा आशा र उत्साहको सञ्चार गरेको निष्कर्ष निकालेको एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए । बैठकले नीति तथा कार्यक्रमका पक्षमा संसद्मा सकारात्मक ढङ्गले सक्रिय र प्रभावकारी भूमिका निभाउन सांसदहरूलाई निर्देशन दिइएको उनले बताए ।
देशलाई तीव्र आर्थिक वृद्धिको दिशामा लैजान र देश तथा जनताको हितलाई केन्द्रमा राखी विकास, समृद्धि, सुशासन र सेवा प्रवाहलाई महत्त्व दिएर नीति तथा कार्यक्रम आएको निष्कर्ष निकालेको प्रमुख सचेतक बर्तौलाले बताए ।
बैठकमा नीति तथा कार्यक्रमका सम्बन्धमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल, एमालेका उपमहासचिव विष्णु रिमाल, प्रधानमन्त्री केपी शर्मा ओलीका आर्थिक सल्लाहकार युवराज खतिवडाले विज्ञका रूपमा प्रशिक्षण दिएका थिए ।