१० साउन २०८३, आइतबार
सरसर्ती २४ घण्टा

सरकार–चिकित्सकबीच सहमतिदेखि डीभीको नतिजा सार्वजनिकसम्म

बैशाख २१, २०८२
काठमाडौं
सरकार–चिकित्सकबीच सहमतिदेखि डीभीको नतिजा सार्वजनिकसम्म

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–

नेपाली कांग्रेसले सरकारले ल्याएको नीति तथा कार्यक्रममा सकारात्मक र रचनात्मक सुझावहरूसहित समर्थन गर्न सांसदहरूलाई निर्देशन दिएको छ ।

राष्ट्रिय आवश्यकताका अधिक विषयहरू नीति तथा कार्यक्रममा समेटिएकाले शनिबार बसेको संसदीय दलको बैठकले त्यसलाई समर्थन गर्ने निर्णय गरेको प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए।

००००

नेपाल कम्युनिस्ट पार्टी एमालेले सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रगतिशील, व्यावहारिक र जनमुखी भएको निष्कर्ष निकालेको छ । 

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेका पार्टीको संसदीय दलको बैठकले नीति तथा कार्यक्रमले देशमा व्याप्त रहेको निराशा हटाउन, जनतामा आशा र उत्साहको सञ्चार गरेको निष्कर्ष निकालेको एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए । बैठकले नीति तथा कार्यक्रमका पक्षमा संसद्मा सकारात्मक ढङ्गले सक्रिय र प्रभावकारी भूमिका निभाउन सांसदहरूलाई निर्देशन दिइएको उनले बताए । 

००००

कक्षा १२ को  परीक्षा आइतबारदेखि सुरु भएको छ । आगामी जेठ २ गतेसम्म सञ्चालन हुने परीक्षाका लागि बोर्डले देशभर एक हजार ५९० र जापानमा एक गरी कूल एक हजार ५९१ परीक्षा केन्द्र निर्धारण गरेको छ । 

००००

अमेरिकी डिभी चिट्टाको नतिजा प्रकाशित भएको छ । अमेरिकी विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सका अनुसार नतिजा मन्त्रालयको वेवसाइटमार्फत हेर्न सकिनेछ । 

विजेताहरूले आगामी अक्टोबर १ देखि भिसा पाउन सुरु गर्नेछन् ।

००००

सरकार र आन्दोलनरत आवासीय चिकित्सकबीच सहमति भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र नेपाल मेडिकल एसोसिएसनबीच शनिबार मन्त्रालयमा चार बुँदे सहमति भएको हो । 

सहमतिपत्रमा मन्त्रालयका तर्फबाट डा भीमप्रसाद सापकोटा र एसोसिएसनका तर्फबाट महासचिव सञ्जिव तिवारीले हस्ताक्षर गरेका छन् । सहमति गरेसँगै आवासीय चिकित्सकले गर्दै आएको आन्दोलन फिर्ता भएको छ ।

००००

गैर आवासीय नेपाली (एनआरएनए)को एकता महाधिवेशन काठमाडौँमा सुरु भएको छ। परराष्ट्र मन्त्री आरजु देउवा राणाको प्रमुख आतित्थ्यतामा महाधिवेशन सुरु भएको हो । 

सर्वोच्च अदालतको फैसला अनुसार पूर्व अध्यक्ष शेष घलेको नेतृत्वमा वनेको उच्चस्तरीय समितिको पहलमा आजदेखि काठमाडौँमा एकता महाधिवेशन सुरु भएको हो ।

००००

त्रिभुवन राजपथको नागढुङ्गा–पिप्लामोड सडक निर्माण तथा सुधार गर्नुपर्ने भएकाले नागढुङ्गा(नौबिसे खण्ड यही वैशाख २२ गतेदेखि रातिमा बन्द गरिने भएको छ ।

नागढुङ्गा(मुग्लिङ सडक योजना (पूर्वी खण्ड)ले उक्त जानकारी गराएकाले सोहीअनुसारको व्यवस्था मिलाउने गरी आवश्यक तयारी थालिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।

००००

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा पहिलो पार्टी बन्ने सङ्कल्पका साथ जनतासँगको सम्बन्ध सुदृढ गर्दै लगिएको बताएका छन् ।

तामाङ राष्ट्रिय मुक्ति मोर्चा नेपालको प्रथम बागमती प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै उनले संसद्मा पहिलो दल बन्ने सङ्कल्पका साथ अघि बढेको बताए ।

००००

मकवानपुरको हेटौंडा उपमहानगरपालिका( १७ गैरीगाउँमा सडक भासिँदा रोकिराखेको गाडी बेपत्ता भएको छ।

गैरीगाउँस्थित भित्री कच्ची सडकमा शुक्रबार दिउँसो सडक भासिएर गाडी बेपत्ता भएको प्रहरीले जनाएको छ ।

ना ४ च ४८३३ नम्बरको गाडी सडक भासिएर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डीएसपी श्यामु अर्यालले जानकारी दिए ।

००००

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले तरुणहरूको काँधमा देशको जिम्मेवारी रहेको बताएका छन् ।

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा आयोजित नेपाल तरुण दलको पूर्णकालीन सदस्यता वितरण कार्यक्रममा उनले भविष्यमा देशको नेतृत्व युवाले गर्ने भएकाले राष्ट्रलाई केन्द्रमा राखेर काम गर्न उनीहरूलाई आह्वान गरे । 

००००

पछिल्लो एक वर्षमा प्रेस स्वतन्त्रता हननसम्बन्धी ७३ वटा घटना भएका छन् । नेपाल पत्रकार महासङ्घ, सञ्चार अनुगमन इकाइका अनुसार सन् २०२४ मे ४ देखि २०२५ अप्रिल ३० सम्ममा भएका ७३ वटा घटनामा १५१ पत्रकार र पाँचवटा सञ्चार संस्था आक्रमणमा परेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्