
राष्ट्रियसभा सदस्य डाक्टर अन्जान शाक्यले बुद्धको जन्म मितिकै आधारमा ‘बुद्धजयन्ती’ मनाउनुपर्ने बताएकी छिन् ।
आजको राष्ट्रियसभा बैठकमा बोल्दै उनले बुद्धजयन्तीलाई बुद्धको जन्ममितिकै आधारमा ‘बुद्धजयन्ती’का रूपमा मनाउनुपर्ने बताएकी हुन् ।
‘कसैले बुद्धको जन्म मिति ई.पू. ६२३ लाई लिएर आउने वैशाख २९ गतेका दिन २६ सय ४९ औं बुद्ध जयन्तीका रुपमा मनाउने गर्दछन्,’ उनले भनिन्, ‘कसैले चाहिँ गौतम बुद्ध महापरिनिर्वाण भएको दिनको मितिलाई लिएर अर्थात् दिवंगत हुनुभएको दिनलाई लिएर अहिले आउने वैशाख २९ गतेका दिन २५ सय ६९औं बुद्ध जयन्तीका रूपमा मनाउँदै छन् । २५ सय ६९ भनेको बुद्ध संवत् हो । बुद्ध महापरिनिर्वाण भएको मितिलाई आधार मानेर उक्त दिनदेखि बुद्ध संवत् प्रारम्भ भएको हो । अब आउने वैशाख पूर्णिमाका दिन अर्थात् वैशाख २९ गते बुद्ध संवत्को नयाँ वर्ष २५ सय ६९ प्रारम्भ हुन्छ ।’
उनले यी दुई तथ्य प्रस्तुत गर्दै बुद्ध संवत् भनेको गौतम बुद्धको जन्म मिति नभएको दाबी गरिन् । ‘केहीले आउँदो वैशाख २९ गतेका दिन २५ सय ६९औं बुद्ध जयन्तीका रूपमा मनाउन गइरहेका छन् । उनीहरूले बुद्ध संवत्को नयाँ वर्ष प्रारम्भ हुने दिनलाई बुद्ध जयन्तीका रूपमा मनाउन गइरहेको देखिन्छ,’ उनले भनिन्, ‘तेस्रो अभ्यास अनुसार चाहिँ बुद्धको जन्म मिति वा महापरिनिर्वाण मितिलाई बेवास्ता गर्दै वैशाख पूर्णिमालाई केवल त्रिसंयोग दिवसका रूपमा मनाउँछन् । यस अभ्यासले बुद्धको जन्मस्थान नेपालको महत्वलाई ओझेलमा पार्छ ।’