
नेकपा माओवादी केन्द्रले ‘हुलाकी मार्ग केन्द्रित ‘जनतासँग माओवादी : तराई–मधेश जागरण अभियान’ले राष्ट्रिय एकता सुदृढ गर्न महत्त्वपूर्ण योगदान दिएको निष्कर्ष निकालेको छ।
शनिबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को खुमलटारस्थित निवासमा बसेको केन्द्रको पदाधिकारी बैठकले अभियानको समीक्षा गर्दै अभियान माओवादी केन्द्रको मात्र नभई सम्पूर्ण राष्ट्रकै साझा अभियान बन्न सफल भएको निष्कर्ष निकालेको हो ।
बैठकले अभियानमा सक्रिय सहभागिता जनाएका तराई–मधेशका जनसमुदायप्रति आभार व्यक्त गर्दै धन्यवाद प्रस्ताव पनि पारित गरेको छ।
यस्तै, शनिबारको बैठकले आगामी जेठ २ गतेदेखि ‘मध्य पहाडी लोकमार्ग अभियान’ शुरू गर्ने निर्णय गरेको छ।
बैठकमा माओवादीप्रति बढ्दो जनविश्वास, आगामी अभियानको तयारी, कार्ययोजना र संगठन विस्तारका विषयमा पनि विस्तृत छलफल भएको पार्टीले जनाएको छ।