
काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गैरआवासीय नेपाली संघ(एनआरएनए)को एकतामा आफूले अधिकतम प्रयास गरेको बताएका छन् ।
आइतबार एनआरएनए एकता महाधिवेशनबाट निर्विरोध निर्वाचित भएका पदाधिकारी एवम् सदस्यहरूको शपथ समारोहमा सम्बोधन गर्दै उनले आफू प्रधानमन्त्री हुँदा या नहुँदा एकताका लागि अधिकतम प्रयास गरेको बताएका हुन् ।
‘एनआरएनएको एकता चासो र चिन्ताको विषय थियो । मुलुक विकासको काममा यसले धक्का पुग्ने हो कि भन्ने चिन्ता थियो । सोही भएकाले एकताका लागि धेरै प्रयास गरेको हुँ । यसअघि तीन अध्यक्षलाई सँगै राखेर हस्ताक्षर गराएरै एकताका लागि प्रयास गरेको हुँ । आज शेष घलेले अदालतको आदेश अनुसार एकता महाधिवेशन सम्पन्न गर्नुभएकोमा बधाई दिन चाहन्छु,’ अध्यक्ष दाहालले भने,‘एकता महाधिवेशन गराउन र विना झमेला निर्वाचन सम्पन्न गराउनुभएकोमा सबैलाई धन्यवाद दिन चाहन्छु ।’
संविधान निर्माणकै बेलादेखि गैरआवासीय नेपालीहरूको हक अधिकारका लागि क्रियाशील रहेको उल्लेख गर्दै अध्यक्ष दाहालले भने,‘संविधानमा गैरआवसीय नेपालीहरूको हक अधिकार सुनिश्चित गर्ने प्रयास गरेको छु । संविधानको मूल मर्म र भावना अनुसार नागरिकता प्रदान गर्ने प्रयास अघि बढायौँ । मेरो तेस्रो कार्यकालमा प्रधानमन्त्रीको हैसियतमा कुल आचार्य र डा.बद्री केसीलाई नागरिकताको प्रमाण पत्र वितरण गर्ने अवसर पाएको छु । त्यो मेरो र सबैको गर्वको विषय हो,’ उनले भने,‘तर नागरिकता कामकाजी भएको छैन । त्यसैले कामकाजी बनाउने प्रयास गरिनेछ । यो मेरो प्रतिबद्धता भयो ।’
कार्यक्रममा उनले विश्वभरि छरिएर रहेका गैर आवासीय नेपालीहरूका लागि र देशभित्रै रहेका श्रमिकहरूका लागि सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने प्रयास गरेको बताए । आफू प्रधानमन्त्री भएको बेला गोर्खाहरुको मुद्दामा पटक पटक पहलकदमी लिएको दाबी गरे । उनले गैरआवसीय नेपालीहरूका मुद्दाहरूलाई सदनमा कुरा उठाउने पनि बताए ।
उनले नेपालमा सुशासन, सामाजिक न्यायका पक्षमा र आर्थिक विकासमा काम गर्नुपर्ने भएकाले एनआरएनएको नेटवर्क, ज्ञान, अनुभव र रिसोर्सले मुलुकको समृद्धिमा सहयोग पुग्ने बताए । सम्बोधनका क्रममा एकता महाधिवेशनबाट निर्वाचित महेश श्रेष्ठको टिमलाई बधाई समेत दिए ।