
नागरिक उन्मुक्ति पार्टीका संस्थापक नेता रेशम चौधरीलाई पक्राउ गरिएको विषयमा सरकारको जवाफ माग गर्दै नाउपा र जनमत पार्टीले संसद्मा अवरोध गरेका छन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा ती दुई दलले केहीबेर अवरोध गरेका हुन् ।
बैठकको शुरूमै सभामुखसँग आकस्मिक समय लिएर नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले रेशम पक्राउको विषयमा सरकारको जवाफ माग गरेकी थिइन् । सोमबार नाउपाका लालवीर चौधरीले पनि सरकारको जवाफ माग गरेका थिए ।
तर, सरकारले जवाफ नदिएको भन्दै नाउपा र जनमत पार्टीका सांसदहरू उठेर सरकारलाई जवाफ दिन रूलिङको माग गरे । त्यसपछि सभामुख देवराज घिमिरेले नेपाल सरकारको ध्यानाकर्षण गराएको बताए । तर, सभामुखको भाषाप्रति सन्तुष्ट नभएपछि उनीहरूले स्पष्ट भाषामा निर्देश गर्न माग गरे ।
‘रूलिङ यही हो, आकस्मिक र शून्य समयमा उठेको विषयमा सरकारको ध्यानाकर्षण गराउँछु भन्ने कुरा नै रुलिङ हो’, सभामुखले भने ।
तरपनि सांसदहरू उठेर विरोध कायम राखे । त्यसपछि सभामुख घिमिरेले फेरि भने, ‘संसद्मा सरकारको प्रतिनिधि हुन्छ । सरकारले सुन्नुपर्छ, समयमा ध्यान दिनुपर्छ । सरकारले उपयुक्त समयमा जवाफ दिनुपर्छ । यसमा सरकारको गम्भीर ध्यानकर्षण गराउँछु’ सभामुख घिमिरेले भने ।
त्यसपछि मात्र सांसदहरू बसे र संसद् बैठक नियमित कार्यसूचीमा प्रवेश गर्यो । सर्वोच्च अदालतका एक सन्काहा कर्मचारीले लेखेको पत्रले वैशाख १७ गते रेशम केही घण्टाका लागि जेल परेका थिए ।