२४ असार २०८३, बुधबार

प्रधानमन्त्रीको लागि म जत्तिको नैतिक रुपमा बलियो उम्मेदवार एमाले र माओवादीभित्र समेत छैनन् : बामदेव गौतम

मंसिर १६, २०७४
प्रधानमन्त्रीको लागि म जत्तिको नैतिक रुपमा बलियो उम्मेदवार एमाले र माओवादीभित्र समेत छैनन् : बामदेव गौतम

 बर्दिया, १६ मंसिर– नेकपा एमालेका उपाध्यक्ष एवम् बर्दिया क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बामदेव गौतमले अबको प्रधानमन्त्री आफू नै बन्ने दाबी गरेका छन् । 

आफूलाई प्रधानमन्त्रीको दाबी गर्दै आएका गौतमले रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष चुनावी साक्षात्कारमा आफू जत्तिको नैतिक रुपमा बलियो उम्मेदवार एमाले र माओवादीभित्रसमेत नरहेको जिकिर गरेका छन् । 

उनले बर्दियामा चुनावी माहोल गरमागर्मी रहेको बताउँदै भने,‘वामपन्थी उम्मेदवाहरुले जित्ने पक्का भइसक्यो । बाम गठबन्धनप्रति जनताको लहर आएको छ । त्यसैले चुनाव जित्छौँ ।

केन्द्रमा माओवादीसँग गठबन्धन भए पनि तल्लो तहमा माओवादीका कार्यकर्ताले एमालेलाई मतदान गर्दैनन भन्नु गलत प्रचारमात्रै भएको गौतमले टिप्पणी गरे । 

उनले थपे,‘शतप्रतिशत गर्छन् । यस्तो पनि कसैले कुरा गर्छ ? यो त कांग्रेसको दिमागमा आएको सपनाको पुलाउ हो । हामीले त जितिसक्यौँ । कांग्रेसले त कति ठाउँमा हाछौँ भनेर गनिरहेका छन् । 

उनले एकता भन्ने कुरा आफूलाइ राम्रोसँग थाहा भएको जिकिर गर्दै थपे,‘ मैले २० वटा पार्टी एकता गराइसकेको छु । आज पनि मेरै कारणले एमाले र माओवादी एकता हुन लागेको हो । एकता कसरी गर्नुपर्छ मलाई थाहा छ । ऋषि धमला र अरुलाई थाहा छैन ।’ उनले नेपाल अब साम्यवादको बाटोमा गएको समेत स्पष्ट पारे । 

नेपाली कांग्रेसले त तपाईहरु अधिनायकवादतिर जाँदै हुनुहुन्छ भन्ने आरोप लगाएका छन् नि ? भनेर सोधिएको प्रश्नमा गौतमले थपे,‘त्यो आरोप गलत छ । कम्युनिष्टलाई आरोप लगाएर कांग्रेस नै अधिनायकवाद तिर गइरहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आचारसंहिता विपरित काम गरिरहेका छन् । आयोगलाई टेरेका छैनन् । यही हो अधिनायकवाद । तर जनताले अहिले उल्ट्याउँदै छन् । कांग्रेस अहिले पागल भएको छ ।’ 

आफूहरुले राष्ट्रपति शासन ल्याउने भनेर घोषणापत्रमा कहीँकतै नलेखेको उल्लेख गर्दै भने,‘अहिले घोषणापत्रमा लेखेका छैनौँ । तर पछि आवश्यकता अनुसार राष्ट्रपति शासनमा जान्छौँ । नेपाली जनताले चाहे भने प्रत्यक्ष निर्वा्चित राष्ट्रपतिय शासनमा जान सक्छौँ ।’ 

वाम गठबन्धनको दुई तिहाई बहुमत आउने समेत गौतमको दाबी थियो । गौतमले थपे,‘यसपटक एमाले र माओवादी केन्द्रको गठबन्धनले दुई तिहाई बहुमत आउँछ ।’ 

कांग्रेसले वाम गठबन्धनलाई सिध्याउने प्रयास गरिरहेको उनको आरोप थियो । 

अबको प्रधानमन्त्री को हो ? भनेरसोधेको अर्को प्रश्नमा गौतमले भने,‘त्यो त चुनाव सकिएपछि निर्णय हुन्छ । म पनि प्रधानमन्त्रीको दाबेदार हुँ । म प्रष्ट रुपमा प्रधानमन्त्रीको उम्मेदवार हुँ । एमाले माओवादीभित्र नैतिक रुपमा प्रधानमन्त्रीको दाबी गर्न सक्ने म जत्तिको नेता अरु छैन ।’ 

आफूलाई प्रधानमन्त्री बन्न केपी ओली र प्रचण्ड दुवैले समर्थन गर्ने समेत दाबी गरे । 

पार्टी एकतापछि अध्यक्ष को बन्ने भन्ने कुरा पनि आफूहरुले सहमतिमै गर्ने उनको दाबी थियो । 

‘त्यो पनि पछि थाहा हुन्छ । केपी ओली कि प्रचण्ड भन्ने हामी बिचार पु¥याएर निर्णय गछौँ । अहिले हामी बोल्दैनौँ ।’ चुनाव सकिएको तीन महिनाभित्र पार्टी एकता हुने गौतमले ठोकुवा गरे । 


 

salt training

कमेन्ट गर्नुहोस्