
किरात समुदायको प्रमुख चाड साकेला (उभौली) सोमबारदेखि औपचारिक रूपमा शुरूआत भएको छ ।
तीन चुल्हा तथा भूमिको पूजा गर्दै ‘खेतीपाती सप्रियोस्, रोगब्याधी नलागोस्, प्राकृतिक विपत्ति नपरोस्’ भन्ने कामनासहित महिना दिनसम्म साकेला (उभौली) चाड मनाउने चलन छ ।
साकेला उभौलीको अवसरमा किरात समुदायको बसोबास रहेको प्रत्येक गाउँ तथा बस्तीमा युवायुवती, केटाकेटी र बुढापाकाको जमघट तथा ढोल–झ्याम्टासहित साकेला गीत र नाचले गुञ्जयमान बन्ने गरेको छ ।
माझ किरात भनेर चिनिने खोटाङका किरात बस्ती रहेको हरेक गाउँ तथा बस्तीमा साकेला सिली प्रदर्शन गर्दै शुभकामना आदानप्रदानसहित महिना दिनसम्म साकेला उभौली चाड मनाउने गरिएको छ ।
साकेला उभौली चाड अन्नबाली छर्ने (रोप्ने) बेला अर्थात् वैशाख पूर्णिमादेखि महिना दिनसम्म मनाउने गरिन्छ । साकेला उभौलीको अवसरमा परम्परागत भेषभूषामा सजिएका दाजुभाइ, दिदीबहिनी, बुबाआमा, इष्टमित्र एक ठाउँमा भेला भएर गोलो घेरामा ढोल र झ्याम्टा बजाउँदै साकेला गीत गाएर साकेला सिली नाच्ने गरिन्छ ।
साकेला उभौलीको अवसरमा किरात राईहरूको ऐतिहासिक थलो मानिएका जिल्लाका विभिन्न ठाउँमा विधिवतरूपमा पूजाआजा गरिएसँगै यो चाड मनाउने प्रचलन छ । किरात समुदायको हरेक घरमा तीन चुल्हा पुज्नुका साथै साकेला थानमा भूमिको पूजाआजा गरेपछि साकेला गीतको भाका तथा ढोल र झ्याम्टाको तालमा हात र खुट्टाले सिली टिप्दै ठूलो चउरमा गोलो घेरा हालेर साकेला नाचिन्छ ।
किरात समुदायको उद्गमस्थल मानिने खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा अवस्थित तुवाचुङ–जायाजुङ, दिक्तेल रूपाकोट मझुवागी नगरपालिकाको मझुवागढी, रूपाकोट र मेरूङ, जन्तेढुङ्गा गाउँपालिकाको जन्तेढुङ्गा र छोङ्खालगायत धार्मिक तथा पर्यटकीयस्थलका साथै साकेला थानमा साकेला नाचिन्छ ।
छिटको गुन्यु मखमलको चोली, पहेँलो पटुकी, खाँडीको दौरासुरूवाल, ढाका टोपीलगायत किराती मौलिक भेषभूषामा ठाँटिएर हरेक किरातीका घरघरमा नाच्दै गाउँदै हर्षोल्लासका साथ मनाइने यो चाडमा किरात समुदाय मात्र नभइ गैरकिरात समुदायका युवायुवतीसमेत औपचारिक तथा अनौपचारिक कार्यक्रममा सहभागी भएर साकेला सिली नाच्ने गर्छन् ।
चराचुरूङ्गी तथा जीवजन्तुको नक्कल गर्दै ढोल/झ्याम्टाको तालमा सुम्निमा र पारूहाङले सम्पूर्ण सृष्टिजगत्को रक्षा गरून् भन्ने कामनासहितका सन्देशमूलक गीत गाउँदै साकेला उधौली–उभौली मनाइन्छ । खुला आकाशमुनि ठूलो मैदानमा गोलो घेरा हालेर संयुक्त रूपमा नाचगान गरी हर्षोल्लासपूर्वक साकेला नाचिन्छ ।
बालकदेखि युवा तथा वृद्धवृद्धासम्म एउटै लहरमा सामूहिक रूपमा नाचिने साकेला नृत्यले आदिवासी जनजाति समुदायको सामूहिक भावना प्रदर्शन गर्छ । हातखुट्टाको चालले पङ्तिबद्ध रूपमा साकेला सिली नाच्दा प्रस्तुत गर्ने शरीरको हाउभाउ र अभिनयमा खोरिया फाँडेको, अन्नबाली लगाएको, गोडमेल गरेको र बाली उठाएर थन्क्याएको जस्ता कृषि कार्यमा गरिने प्रक्रिया प्रदर्शन गरिन्छ ।