२८ जेठ २०८३, बिहीबार

नाबालक छँदै हत्याको आरोप, घरजम गरिसकेको अवस्थामा १९ वर्षपछि पक्राउ

बैशाख ३१, २०८२
काठमाडौं
नाबालक छँदै हत्याको आरोप, घरजम गरिसकेको अवस्थामा १९ वर्षपछि पक्राउ

रुपन्देहीको मर्चवार गाउँपालिका– ६ बगौलीका ३५ वर्षीय दशरथ कुर्मी कर्तव्य ज्यान मुद्दामा १९ वर्षपछि पक्राउ परेका छन् ।

भारतको मुम्बईबाट घर फर्किएका बेला इलाका प्रहरी कार्यालय मर्चवारले दशरथलाई सुरहवा खोला नजिकैबाट नियन्त्रणमा लिएको हो । 

२०६३ भदौ २८ मा गाउँकै पुजारी कुर्मीको हत्यामा संलग्न रहेको आरोप उनीमाथि छ । पुजारीको हत्या हुँदा दशरथ १६ वर्षमा टेक्दै थिए । 

उनी घटनालगत्तै भारततर्फ भागे । भारतमा रहेका आफन्तको घरमा बसे ।  त्यहाँ उनले टायल टाँस्ने काम गरे । यो बीचमा दशरथ लुकीछिपी घर आउजाउ गर्थे । प्रहरीले उनको खोजीका लागि खासै चासो पनि दिएको थिएन ।

दशरथले विवाह पनि गरे । उनका दुई सन्तान जन्मिए । स्थानीयलाई समेत थाहा नदिई रातको समयमा मात्रै घर आउने गर्थे । गाउँमा दशरथ घर आएको हल्ला गाइँगुइँ चल्न थाल्यो ।

प्रहरीले निगरानी बढायो । वैशाख २८ मा घर फर्कन लागेका उनलाई मर्चवार प्रहरीले सुरहवा खोला नजिकैबाट नियन्त्रणमा लियो । 

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) सुरज कार्कीका अनुसार प्रारम्भिक अनुसन्धानमा पुजारीको हत्यामा संलग्नमध्ये दशरथको पनि नाम उल्लेख भएकाले उनलाई नियन्त्रणमा लिइएको हो ।

‘पुजारीको हत्या भएका बेला दशरथ नाबालक रहेछन्, उनी भागेर भारत पुगेका रहेछन्,’ कार्कीले लोकान्तरसँग भने, ‘अहिलेसम्म उनको खासै खोजीनीति भएको देखिएन । पछिल्लोपटक गाउँ आउजाउ गर्न थालेपछि निगरानी बढाएर उनलाई नियन्त्रणमा लिएका हौं ।’ 

दशरथको परिवारले खेतीकिसानी गरेरै जीवन गुजारा गर्दै आएका छन् । मुम्बईमा टायलको काम गरेपछि तलब लिएर उनी घर आउने र एक/दुई दिन बसेर पुनः मुम्बई फर्कने गर्दै आएका थिए । प्रहरीको प्रारम्भिक बयानमा दशरथले उक्त घटनामा आफ्नो प्रत्यक्ष संलग्नता नरहेको जिकिर गरेका छन् । तर, पीडित परिवारले किटानी जाहेरी दिँदा दशरथको नाम पनि राखेकाले प्रहरीले अनुसन्धान गर्न लागेको हो ।

‘१९ वर्षअघिको त्यो घटनाको अनुसन्धान मिसिल अध्ययन गरेर दशरथको संलग्नता पुस्ट्याइँँ गर्ने काम गर्छौं,’ डीएसपी कार्कीले भने, ‘हामी थप अनुसन्धानमै रहेकाले अहिले यति मात्रै भनौं ।’

पक्राउ परेका दशरथलाई कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत रुपन्देहीबाट म्याद लिएर थप अनुसन्धान अघि बढाइने जानकारी डीएसपी कार्कीले दिए । 
 

salt training

कमेन्ट गर्नुहोस्