३० जेठ २०८३, शनिबार

एमडीएमएसमा सफाइ पाएका दूरसञ्चार प्राधिकरणका कर्मचारीलाई पनि टेरामक्समा भ्रष्टाचार मुद्दा

जेठ १, २०८२
काठमाडौं
एमडीएमएसमा सफाइ पाएका दूरसञ्चार प्राधिकरणका कर्मचारीलाई पनि टेरामक्समा भ्रष्टाचार मुद्दा

एमडीएमएस खरिद प्रकरणमा २ महिनाअघि (फागुनमा) सफाइ पाएका नेपाल दूरसञ्चार प्राधिकरणका अधिकारीहरूविरुद्ध फेरि सोही प्रकृतिको भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालतमा टेरामक्स घोटाला प्रकरणमा १६ जना व्यक्ति र २ कम्पनीविरुद्ध ३ अर्ब २१ करोड रुपैयाँभन्दा बढीको बिगो माग गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

यस प्रकरणमा पूर्वमन्त्री समेत जोडिए पनि अधिकांश यस्ता कर्मचारीहरू समेत समेटिएका छन्, जसले एमडीएमएसमा सफाइ पाएका थिए ।

तीमध्ये प्राधिकरणका निर्देशकहरू रेवतीराम पन्थ, सुरेन्द्रलाल हाडा, दीपेश आचार्य र विजयकुमार राय तथा उपनिर्देशकद्वय  उपनिर्देशक अच्युतानन्द मिश्र र सन्दीप अधिकारी छन् ।

मुद्दाको प्रमुख अभियुक्तमा पूर्वसञ्चारमन्त्री तथा कांग्रेस नेता मोहनबहादुर बस्नेत, तत्कालीन प्राधिकरण अध्यक्षहरू दिगम्बर झा र पुरुषोत्तम खनाल, सदस्य धनराज ज्ञवाली र टीकाप्रसाद उप्रेती पनि परेका छन्।

झा र खनाल एमडीएमएसमा दोषी ठहर भएका थिए ।

यो प्रकरणमा परामर्शदाता कम्पनी भ्यानराइज सोलुसन र यसको स्थानीय एजेन्ट कनेक्सन ट्रेड लिंक प्रालिलाई समेत प्रतिवादी बनाइएको छ।

प्राधिकरणले सन् २०१७ मा नागरिकको फोन ट्यापिङका लागि टेरामक्स उपकरण खरिदको प्रक्रिया अघि बढाएको थियो। 

चारवटा कम्पनीले प्रतिस्पर्धा गरे पनि सबभन्दा सस्तो प्रस्ताव अस्वीकृत गर्दै महंगो प्रस्ताव पेश गर्ने कम्पनीलाई ठेक्का दिइएको थियो।

salt training

कमेन्ट गर्नुहोस्