०२ असार २०८३, मंगलबार

सुवास नेम्वाङको भविष्य ‘धर्म गुरुको हात’मा, कांग्रेस उम्मेदवार किन मख्ख ?

मंसिर १७, २०७४
सुवास नेम्वाङको भविष्य ‘धर्म गुरुको हात’मा, कांग्रेस उम्मेदवार किन मख्ख ?

इलाम, १७ मंसिर– माङ्सेबुङ गाउँपालिकाको वडा नम्बर ५ । चर्चित धार्मिकस्थल लारुम्बा भएकाले यो ठाउँलाई विशेष मानिन्छ । किराँत धर्मका महागुरु फाल्गुनन्द पछि चर्चामा रहेका गुरु आत्मानन्दको आश्रम भएको ठाउँ हो यो । 

किराँत धर्मका गुरुको क्षेत्र भएकाले धार्मिक हिसावले केन्द्रमा रहनु सामान्य नै हो । तर पछिल्लो समय लारुम्बालाई दलहरुले राजनीतिक निर्णयको केन्द्र पनि बनाएका छन् । 

प्रथम राष्ट्रपति रामवरण यादवदेखि प्रमुख दलका नेताहरु यहाँ पुगिसकेका छन् । गुरु आत्मानन्दले सबैलाई अहिंसा, भातृत्व, प्रेम र सद्भावको उपदेश दिन्छन् । तर चुनावी समयमा गुरुको भूमिकालाई दलहरुले नै आफ्नो पक्षमा तान्ने होड चलाउँछन् । 

यसपटकको चुनावमा पनि आत्मानन्दलाई प्रभावमा पारेर चुनाव जित्ने दाउमा छन् दलहरु । यो ठाउँ इलाम क्षेत्र नम्बर २ मा पर्छ । जहाँबाट अहिले वाम गठवन्धनका उम्मेदवार एमाले नेता सुवास नेम्वाङ र नेपाली कांग्रेसका केशव थापा चुनावी प्रतिस्पर्धामा छन् । 

नेम्वाङ गत संविधानसभा निर्वाचनमा इलाम क्षेत्र नम्बर २ बाटै विजयी भएका थिए भने कांग्रेसका थापा इलाम क्षेत्र नम्बर ३ बाट । यसअघिको ३ नम्बर निर्वाचन क्षेत्र अहिले क्षेत्र नम्बर १ र २ मा बाँडिएको छ । 

कांग्रेसका थापा विकासवादी नेताका रुपमा चिनिन्छन् भने पूर्वसभामुख समेत रहेका एमाले नेता नेम्वाङले बौद्धिक नेताको परिचय बनाएका छन् । नेम्वाङले संविधान सभा अध्यक्षको रुपमा संविधान निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको जस पनि पाएका छन् । जसलाई वाम गठवन्धनले उनको जितको पहिलो आधारका रुपमा पनि व्याख्या गर्दै आएको छ । 

कांग्रेस उम्मेदवार थापाले चुनाव जितेपछि आफ्नो निर्वाचन क्षेत्र पर्ने ठाउँमा सडक विस्तारदेखि खानेपानीका योजना ल्याएर विकासवादी नेताको पहिचान बनाएका छन् । तर उनले काम गरेको धेरै ठाउँ अहिले निर्वाचन क्षेत्र नम्बर १ मा पर्छ । त्यसैले अहिले कायम २ नम्बर क्षेत्रमा उनले पनि सजिलै चुनाव जित्ने आधार छैन । यद्यपि कांग्रेस कार्यकर्ताहरु थापाले चुनाव जित्ने पक्का रहेको दावी गर्छन् । 

दुवै नेतालाई धर्म गुरुको भर

वाम गठवन्धनका उम्मेदवार नेम्वाङ कात्तिक १६ गते प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गरेको दोस्रो दिन लारुम्बा पुगे । अन्य नेताले २० मिनेट पनि मुश्किलले दर्शन–भेट पाउने गुरु आत्मानन्दसँग नेम्वाङ करिब ४० मिनेट कुराकानी गरे । 

यसअघि पनि नेम्वाङ गुरुको आशिर्वादले चुनाव जित्दै आएको चर्चा चल्ने गरेको थियो । यस पटक पनि नेम्वाङले गुरुबाट आशिर्वाद लिएर चुनावी अभियान थालेका थिए । र उनको पहिलो चुनावी अभियान पनि माङ्सेबुङ गाउँपालिकाबाटै शुरु भएको थियो । 

नेम्वाङ पुगेको दोस्रो दिन (कात्तिक १८ गते) कांग्रेसका केशव थापा पनि गुरुको आशिर्वाद लिन लारुम्बा पुगेका थिए । गुरुलाई भेटेपछि थापामा चुनाव जित्ने विश्वास पलाएको कांग्रेस कार्यकर्ताको भनाइ छ । 

‘स्थानीय तह पुनसंरचनाका बेला गुरुले गरेको थोरै आग्रह पनि नेम्वाङले मान्नुभएन,’ इलाम सदरमुकाम इलाम बजारमा भेटिएका एक कांग्रेस नेताले भने, ‘त्यसैले यसपटक गुरु उहाँसँग अलि निराश हुनुहुन्छ । त्यसको फाइदा भनेका हाम्रो उम्मेदवारलाई हुने नै हो ।’

इलाम कांग्रेस बृत्तमा चलेको चर्चा अनुसार स्थानीय तहको पुनसंरचना गर्दा आत्मानन्दले केही ठाउँको कलस्टर मिलाउन नेम्वाङलाई आग्रह गरेका थिए । तर नेम्वाङले त्यो गरेनन् । जसको असर यसअघिको स्थानीय तह निर्वाचनमा देखिएको कांग्रेस नेताको भनाइ छ । 

स्थानीय तह निर्वाचनमा माङ्सेबुङ गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका डिकिन्द्र इदिङ्गो ३७५९ मत ल्याएर वियजी भए भने एमालेका उम्मेदवार ३१५१ मतमा खुम्चिए । 

लारुम्बा रहेको वडा नम्बर ५ को अध्यक्षमा राष्ट्रिय जनमुक्ति पार्टी विजयी भयो । इलाम बजारमा भेटिएका एमालेका स्थानीय नेताले माङ्सेबुङमा आफूहरुबाट केही कमजोरी भएको स्वीकारे । तर गुरु आत्मानन्द नेता नेम्वाङसँग असन्तुष्ट रहेको भन्ने कुरा झुटो प्रचार मात्रै भएको उनको दावी थियो । 

आत्मानन्दको आश्रम रहेको वडा नम्बर ५ मा यसअघि १६७८ मतदाता थिए । अहिलेको निर्वाचनमा उक्त मतसंख्या २ हजार पुगेको छ । सो वडामा रहेका सबै मत गुरुको पकडमा रहेको विश्लेषण गरिन्छ । गुरुले इलाम क्षेत्र नम्बर २ भर करिब ६ हजार मत प्रभावित पार्न सक्ने विश्लेषण गरिन्छ । 

गुरुको प्रभावमा रहेका ६ हजार मत नै जितका लागि निर्णायक हुने छन् । कांग्रेस उम्मेदवार थापा भने गुरु आफ्नो पक्षमा रहेको भन्दै मख्ख छन् । उता एमाले कार्यकर्ता पनि गुरुको आशिर्वाद आफ्ना उम्मेदवार नेम्वाङमाथि रहेको दावी गर्छन् ।  

एमालेले विकास नगरेको आरोप


इलाम नगरपालिका–४ मा विमानस्थल बन्ने भनेर शिलान्याश गरिएको पनि ७ वर्ष भइसकेको छ । एमाले नेता झलनाथ खनालले प्रधानमन्त्री भएका बेला सुकीलम्बा विमानस्थलको शिलान्यास गरेका थिए । तर अहिलेसम्म विमानस्थल निर्माणको सामान्य काम पनि शुरु हुन सकेको छैन । 

यस्तै इलाम नगरपालिका–४ मै ४ करोड खर्च गरेर कोल्ड स्टोर निर्माण भयो । भारत सरकारको आर्थिक सहयोगमा निर्माण भएको कोल्ड स्टोर सञ्चालनमा नआउँदै जीर्ण बनिसकेको छ । जसको कारण हो कोल्डस्टोर निर्माणमा कमसल सामग्री प्रयोग हुनु । कोल्डस्टोर निर्माणमा आर्थिक चलखेल भएको स्थानीयको बुझाइ छ । 

यी दुई आयोजनाले गर्दा इलाम क्षेत्र नम्बर २ मा एमालेलाई विकास विरोधीको रुपमा चित्रण गरिन्छ । एमाले पटक–पटक सत्तामा पुग्दा समेत इलामका लागि केही नगरेको यहाँका मतदाताको बुझाइ छ ।  
 

salt training

कमेन्ट गर्नुहोस्