
सुदूरपश्चिम प्रदेशसभाको चौथो ठूलो दल नागरिक उन्मुक्ति पार्टी संसदीय दलले प्रदेशसभा सदस्य रामेश्वर चौधरीलाई मन्त्री बनाउन सिफारिस गरेको छ ।
सत्तापक्षीय दल नागरिक उन्मुक्ति पार्टीबाट प्रदेश सरकारमा सहभागी गराउन चौधरीको मुख्यमन्त्री कमलबहादुर शाहसमक्ष सिफारिस गरेको हो । पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले प्रदेशसभा सदस्य कैलाश चौधरीलाई मन्त्रीका लागि सिफारिस गर्न संसदीय दललाई निर्देशन दिएकी थिइन् । संसदीय दलको बैठकले भने अध्यक्षको निर्देशनविपरीत घनश्याम चौधरीलाई मन्त्रीमा सिफारिस गर्ने निर्णय गरेको थियो ।
यो निर्णयपछि पनि आज बसेको अर्को बैठकले रामेश्वर चौधरीलाई मन्त्री बनाउन सिफारिस गरिएको दलका प्रमुख सचेतक इन्दिरा गिरीले जानकारी दिइन् ।
विवादास्पद श्रव्य सामग्री सार्वजनिक भएपछि सो पार्टीबाट उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीको जिम्मेवारीमा रहेका लक्ष्मणकिशोर चौधरीले हालै पदबाट राजीनामा दिएका थिए । त्रिपन्न सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा सो पार्टीका सात जना सदस्य छन् । नेपाली काँग्रेसका १८, नेकपा (एमाले)का ११, नेकपा (माओवादी केन्द्र) का ११, नेकपा (एकीकृत समाजवादी) का चार तथा राप्रपा र स्वतन्त्र एक एक सदस्य छन् ।