२९ असार २०८३, सोमबार

इजाजतपत्रविना वैदेशिक रोजगारीमा पठाउनेमाथि मानव बेचबिखनको कारबाही हुन्छ- महानिर्देशक भट्टराई

जेठ २, २०८२
काठमाडौं
इजाजतपत्रविना वैदेशिक रोजगारीमा पठाउनेमाथि मानव बेचबिखनको कारबाही हुन्छ- महानिर्देशक भट्टराई

वैदेशिक रोजगार विभागका महानिर्देशक कमल प्रसाद भट्टराईले गैरकानुनी रूपमा वैदेशिक रोजगारीमा पठाउनु मानव तस्करी र कानून विपरीतको दण्डनीय कार्य भएको बताएका छन् । 

करिब एक साताअघि मात्रै विभागको महानिर्देशकको जिम्मेवारी पाएका भट्टराईले शुक्रबार पत्रकार सम्मेलन गर्दै इजाजतपत्र लिएका म्यानपावर व्यवसायीबाहेकले श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउनु मानव ओसारपसारको काम भएको बताएका हुन् । 

इजाजतपत्र नलिएकाहरूले श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउने गरेको उनले बताए । विनाअनुमति यस्तो काम गर्नेहरू मानव बेचबिखन तथा ओसारपसार गर्नेहरू रहेको उनको भनाइ छ । 

‘ट्राभल कम्पनी, एजेन्सीहरू तथा कन्सल्टेन्सीहरूले श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउने गरेको गुनासो आउँछ । त्यो कानूनी रूपमा दण्डनीय हो’, महानिर्देशक भट्टराईले भने, ‘इजाजतपत्रवाला संस्थाबाहेक कसैले पनि श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउन पाउँदैन । त्यसरी पठाउनेहरूमाथि मानव बेचबिखन तथा ओसारपसार अनुसार कारबाही हुन्छ ।’

वैदेशिक रोजगार क्षेत्रमा देखिएका विद्यमान समस्या समाधानका लागि विभागले कार्यदल नै गठन गरेको र कार्यदलले प्रतिवेदन बुझाउने क्रममा रहेको उनले बताए । उनका अनुसार नेपालजस्तै राष्ट्रहरूले कसरी वैदेशिक रोजगारमा श्रमिक पठाइरहेका छन् ? यस विषयमा अध्ययनले प्रतिवेदन बुझाउने छ र सो प्रतिवेदनका आधारमा नेपालमा पनि सुधार गरिनेछ । 

‘वैदेशिक रोजगारीमा रहेका श्रमिकहरूको राहत तथा उद्धारका लागि रेपिड रेस्पोन्स टिम बनाइएको छ । समस्यामा परेकोबारे विभागलाई जानकारी पाउनेबित्तिक्कै राहत तथा उद्धारको कार्य अघि बढ्नेछ । विभागका उपमहानिर्देशकले मूल संयोजन गर्ने गरी सम्बन्धित निर्देशकहरूको संयोजकत्वमा विभिन्न ५ वटा समिति बनेका छन्’, उनले भने, ‘वैदेशिक रोजगारको क्षेत्रलाई समग्र रूपमा सुरक्षित व्यवस्थित र मर्यादित बनाउने साथै, वैदेशिक रोजगार क्षेत्रलाई समयानुकूल तथा थप व्यवस्थित बनाउन समिति गठन गरि सुधारका लागि कार्यहरू प्रारम्भ गरिएको छ ।’ 

salt training

कमेन्ट गर्नुहोस्