
आईसीसी विश्वकप लिग २ को तयारीमा रहेको नेपाली क्रिकेट टोलीले युके भ्रमणको पहिलो अभ्यास खेलमा जित दर्ता गरेको छ।
कार्डिफस्थित न्यू पोर्ट क्लबविरुद्ध खेल्दै नेपालले ३ विकेटको रोमाञ्चक जित हात पारेको हो। २१३ रनको लक्ष्य पछ्याउँदै नेपालले ३७.५ ओभरमै ७ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो।
एक समय निकै संकटमा परेको नेपालले १८ रनमै ५ विकेट र ५६ रनमा ६ विकेट गुमाएको थियो। तर त्यसपछि आरिफ शेख र गुलशन झाले सातौं विकेटका लागि १३४ रनको अविश्वसनीय साझेदारी गर्दै टोलीलाई जितको डोरोमा फर्काएका थिए। गुलशन झाले आक्रामक ८० रन बनाए भने आरिफ शेख ७३ रनमा अविजित रहे।
यसअघि टस जितेर ब्याटिङ रोजेको न्यू पोर्ट टोली २१२ रनमै अलआउट भएको थियो। ओपनर विल ट्रिपकोलीले उत्कृष्ट प्रदर्शन गर्दै ११८ रनको शतकीय पारी खेले।
बलिङतर्फ नेपालका लागि कुशल भुर्तेलले ३ विकेट लिए। दिपेन्द्रसिंह ऐरीले २ विकेट झारे भने रिजन ढकाल, ललित राजवंशी र सोमपाल कामीले समान १-१ विकेट लिए।
नेपालले आगामी दिनमा युकेमै थप तीन अभ्यास खेल खेल्ने कार्यक्रम तय भएको छ।