२५ असार २०८३, बिहीबार

चौदण्डीगढी भूमि आयोगका अध्यक्षले भने– विवादित भएर पदमा बस्दिनँ

जेठ ३, २०८२
विराटनगर
चौदण्डीगढी भूमि आयोगका अध्यक्षले भने– विवादित भएर पदमा बस्दिनँ

उदयपुरको चौदण्डीगढी नगरपालिकाले गठन गरेको भूमि आयोगका अध्यक्ष विकास बन्जराले पदमा नबस्ने घोषणा गरेका छन् । चौतर्फी आलोचना भएपछि उनले अध्यक्ष पद्मा नबस्ने घोष्णा गरेका हुन् । 

विवादित भएर पदमा नबस्ने उनले घोषणा गरेका हुन् । ‘नगरपालिकाले नियुक्त गरेको पत्र मैल बुझेको छैन,’ उनले भने ‘मैले त आगोलाई सहयोग गर्नेगरी समिति बनाउन भनेको थिएँ । कसरी आयोग बनेछ मैले बुझिनँ,’ उनले भने । 

‘चौदण्डीगढीले मिच्यो संवैधानिक अधिकार क्षेत्र, गठन गर्‍यो छुट्टै भूमि आयोग’शीर्षकमा गत वैशाख २३ गते लोकान्तरमा समाचार प्रकाशित भएको थियो । 

आयोगले गरेको कामका लागि सहजीकरण गर्ने उद्देश्यले काम गर्न समिति बनाउने र त्यसमा सबै राजनीतिक दलको सहमतिका आधारमा अध्यक्ष बन्ने भनेर आफूले पालिका अध्यक्षलाई भनेको उनले बताए । 

बन्जरा नेकपा एमाले चौदण्डीगढी नगरपालिकाका अध्यक्षसमेत हुन् । उनले नगरपालिकाले दिएको कुनै सेवासुसिवधा नलिनेगरी काम गर्ने भनेर पहिला नै भनेको दाबी गरेका छन् । 

तर, एमालेबाट नै निर्वाचित भएका मेयर कालुमान लामाले भने सेवासुविधा दिनेगरी कानुन बनाएका थिए । काम लगाएपछि सेवासुविधा दिनुपर्ने तर्क छ । अध्यक्षलाई पूर्णकालीन मानी मासिक सुविधा, आवास वा यातायात सुविधा र सदस्यहरूलाई प्रति बैठक भत्ता दिने व्यवस्था समेतगरी नगरपालिकाले कानुन बनाएको थियो । 

यो घटनाले संघीय शासन प्रणालीमा अधिकार क्षेत्रको विवाद र स्थानीय तहको कानून निर्माण सीमासम्बन्धी गम्भीर प्रश्न उठाएको कानुनविदहरूले बताएका छन् । 

नेपालको संविधान २०७२ ले भूमिसम्बन्धी नीति, कानून, मापदण्ड र नियमन संघीय सरकारको एकल अधिकार सूचीमा राखेको छ । अनुसूची–५ मा भूमि व्यवस्थापन, भूमि अभिलेख र राष्ट्रिय भूमि नीति प्रष्टसँग संघको अधिकार क्षेत्रभित्र परेको उल्लेख छ । यद्यपि, स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले स्थानीय तहलाई भूमिको अभिलेखीकरण र व्यवस्थापनसम्बन्धी सीमित अधिकार दिएको छ, तर भूमि आयोग गठन गर्ने अधिकार दिएको छैन ।

संवैधानिक विज्ञ डा. विपिन अधिकारीले पनि स्थानीय तहले आफ्नो अधिकार क्षेत्रभित्र कानून बनाउन सक्ने भए पनि भूमि आयोग गठन गर्ने अधिकार संघीय सरकारको मात्र भएको बताउँछन् ।

चौदण्डीगढी नगरपालिकाले ‘चौदण्डीगढी नगरपालिकाको ‘भूमि व्यवस्थापन ऐन’ र ‘भूमि व्यवस्थापन कार्यविधि २०८१’ बनाएर आयोग गठन गरेको थियो र नगर प्रमुख  लामाले संविधानको अनुसूची–८ को एकल अधिकारलाई आधार बनाएर स्थानीय ऐन बनाउन र कार्यान्वयन गर्न पाउने दाबी गरेका छन् ।   

नगरपालिकाले स्थापना गरेको आयोगले जग्गाको भोगाधिकार पत्र दिने व्यवस्था गरेको छ ।  ग्रामीण क्षेत्रमा बढीमा डेढ बिघासम्म, नम्बरीवालले भोग गरेको ऐलानी जग्गा बढीमा ५ कठ्ठासम्म र सुकुम्बासीहरूलाई बढीमा १ कठ्ठासम्म (शहरी क्षेत्रमा १० धुर) भोगाधिकार दिने व्यवस्था गरिएको छ । सुकुम्बासीलाई दिइएको जग्गा ५ वर्षसम्म हक हस्तान्तरण गर्न नपाइने नियम राखिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्