२९ असार २०८३, सोमबार

कांग्रेस नेता महेश कोर्मोचाको निधन

जेठ ३, २०८२
ओखलढुंगा
कांग्रेस नेता महेश कोर्मोचाको निधन
  • पूर्णप्रसाद न्यौपाने/रासस

नेपाली कांग्रेसका नेता महेश कोर्मोचाको निधन भएको छ । ओखलढुङ्गा जिल्ला विकास समितिका पूर्वसभापति एवं नेपाली कांग्रेसका पुराना नेता ८२ वर्षीय कोर्मोचाको उपचारका क्रममा गएराति काठमाडौंस्थित बीएण्डबी अस्पतालमा निधन भएको हो । ​

विक्रम संवत् २००२ मा ओखलढुङ्गाको खिजीचण्डेश्वरीमा जन्मिएका कोर्मोचा २०३१ सालको टिमुरबोटे काण्डमा बचेका थिए । उनले नेपाली राजनीतिको लामो समय योगदान गरे । विक्रम संवत् २००७ मा भएको क्रान्तिमा लगौंटीमा कांग्रेसका चिठ्ठी ओसार्ने जिम्मेवारी पाएसँगै शुरू भएको उनको राजनीतिक यात्रा पछि उनी ओखलढुङ्गा जिल्ला पार्टीको सभापति र तत्कालीन जिल्ला विकास समितिको सभापतिसमेत बने। 

हजुरबुवा भूमिगत कांग्रेस कार्यकर्ता भएकाले घरैबाट २००७ सालको क्रान्तिको शुरूआत भएको बताउने महेश कोर्मोचालाई त्यो बेला लगौंटीमा कांग्रेसका चिठ्ठी ओसार्ने जिम्मेवारी थियो । 

विक्रम संवत् २०१७ पुस १ गते राजा महेन्द्रले प्रजातन्त्रविरुद्ध ‘कु’ गरेपछि गाउँ आतङ्कित भएसँगै प्रशासनसँग बच्न गाउँका १५ जना युवालाई लिएर कोर्मोचा ब्रिटिस आर्मीमा भर्ती हुन धरान गएका थिए । उनीसहित १५ जनामध्ये १४ जना भर्ती भएका थिए  ब्रिटिस आर्मीमा कोर्मोचाले आठ वर्ष सेवा गरेका थिए । त्यसपछि फौज कटौतीमा परेर जागिर छाड्नुपरेसँगै फेरि गाउँ फर्किएर राजनीतिमा सक्रिय भए ।

विक्रम संवत् २०२५ मा नेपाली कांग्रेसले सशस्त्र युद्धको घोषणा गरेपछि ब्रिटिस आर्मीमा काम गरिसकेका महेशको खोजी भएको थियो । त्यो आन्दोलनमा विभिन्न भूमिकामा रहेर कोर्मोचाले काम गरे । त्यसबेला सवारी चालक भएकोदेखि रक्सीको व्यापारसमेत गरेर सङ्गठन निर्माण गरेको इतिहास छ । ​

विक्रम संवत् २०३१ पुस १ गते सोलु ब्यारेक कब्जा गर्ने योजनाअनुसार मङ्सिर २९ गते टिम्बुरबोटेको जङ्गलमा पुगेको कांग्रेसको टोलीमा कोर्मोचा पनि थिए ।

क्याप्टेन यज्ञबहादुर थापा नेतृत्वको टोली ओडारमा बस्ने र त्यहाँको गाउँठाउँ बुझेका महेश कोर्मोचा सल्लेरीसम्म पुगेर ‘रेकी’ गर्ने योजना बनेको थियो ।

बाँकी साथीलाई टिम्बुरबोटेको जङ्गलमा छाडेर कोर्मोचा राति नै सल्लेरीतर्फ लागेकाले भोलिपल्ट भएको टिमुरबोटे काण्डमा संयोगबस कोर्मोचा बच्न सफल भएका थिए । त्यसदिन टिम्बुरबोटेको ओडारमा १८ जना योद्धालाई एकै चिहान बनाइएको थियो ।

ओडारमा बसेका केही लडाकु भाग्न सफल भएका थिए । भाग्नेमध्येमा एक थिए क्याप्टेन यज्ञबहादुर थापा । उनी नेपाली सेनाका पूर्वक्याप्टेन हुन् । नेपाली कांग्रेसले २०२५ सालमा सशस्त्र युद्धको घोषणा गरेपछि जागिर छाडेर विद्रोहमा लागेका थिए । टिम्बुरबोटे काण्डमा बचेका थापालाई २०३५ सालको माघमा कमला नदीको किनार पुर्‍याइ हत्या गरिएको थियो । ​

विक्रम संवत् २०३३ मा राष्ट्रिय मेलमिलापको नीति लिएर बीपी स्वदेश फर्किएपछि महेश पनि पक्राउ परेका थिए । राज्यविरुद्धको मुद्दामा उनी पटकपटक गरी आठ वर्षको जेल जीवन बिताएका थिए ।​ 

विक्रम संवत् २०४६ को बहुदलीय व्यवस्था पुनःस्थापनापछि कोर्मोचा दुई पटक जिविस सभापति र दुई पटक ओखलढुङ्गा कांग्रेसको सभापति बने ।

बाल्यकालदेखि आबद्ध रहेको कांग्रेस पार्टीमा ७० वर्ष बिताएका कोर्मोचाले २०७३ सालमा कांग्रेस परित्याग गरेर पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीमा आबद्ध भएका थिए ।

नयाँ शक्ति त्यागेर विजयकुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमको सहसंयोजकसमेत बनेका कोर्मोचा पुनः कांग्रेसमै फर्किएर सक्रिय राजनीतिमा थिए ।

उनको जन्मथलो ओखलढुङ्गाकै खिजीचण्डेश्वरीमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ । कोर्मोचाका श्रीमती, एक छोरा र एक छोरी छन् ।

salt training

कमेन्ट गर्नुहोस्