
स्थानीय युवाद्वारा गरिएको खुकुरी प्रहारबाट बैतडीमा दुई जना महिला घाइते भएका छन् ।
पुर्चौंडी नगरपालिका–६ रपनाका २० वर्षीय धनवीर धानुकले सोही स्थानका ७० वर्षीया बिखमती धानुक र ६८ वर्षीया दुरोपती धानुकमाथि खुकुरी प्रहार गरी घाइते बनाएका जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक बलदेव बडूले जानकारी दिए । उनका अनुसार शनिबार बिहान धनवीरले दुवै जनालाई खुकुरी प्रहार गरी घाइते बनाएका हुन् ।
घाइते बिखमतीको टाउको र दाहिने पाखुरामा चोट लागेको छ भने दुरोपतीको बायाँ कानमा चोट लागेको प्रहरीले जनाएको छ । घाइते दुवै जनालाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको प्रहरी निरीक्षक बडूले जानकारी दिए । खुकुरी प्रहार गर्ने धनवीरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बिखमतीका नाति दिनेश धानुकसँग धनवीरको लामो समयदेखि घरायसी विवाद रहेको प्रारम्भिक अनुसन्धानबाट खुल्न गएको जनाउँदै उनले दिनेशलाई खुकुरी प्रहार गर्न गएका धनवीरले निजलाई घरमा नभेटेपछि दुई वृद्धामाथि आक्रमण गरेका प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।