३० असार २०८३, मंगलबार

देशभर लगानी विस्तार गर्दै भिजन लुम्बिनी

जेठ ४, २०८२
बुटवल
देशभर लगानी विस्तार गर्दै भिजन लुम्बिनी

बुटवलबाट शुरूआत भएको भिजन लुम्बिनी नामक लगानी अभियानलाई देशव्यापी बनाइने भएको छ ।

भिजन लुम्बिनी लिमिटेडको १० औं वार्षिकोत्सवको अवसरमा आइतबार बुटवलमा आयोजित 'सामूहिक लगानी र समृद्धि' विषयक अन्तरक्रिया कार्यक्रममा अब भिजन नेपाल पनि शुरूआत गरिने जानकारी दिइएको हो ।

कम्पनीका अध्यक्ष जगतबहादुर पोखरेलले बुटवलबाट शुरू भएको भिजन लुम्बिनीलाई राष्ट्रिय स्तरमा भिजन नेपालका रूपमा अगाडि बढाउन लागिएको बताए । अब भिजन लुम्बिनीलाई थप विस्तार गरी भिजन नेपालको वृहत् अवधारणा बनाइएको उनले बताए । विक्रम संवत् २०७२ सालबाट शुरू भएको भिजनमा कर्पोरेट कल्चर र विधिको शासन स्थापित गर्न खोजिएको उनले बताए ।

उनले १० वर्षअघि स्थापित संस्थाले अहिले करिब १० वटा फरक-फरक संस्थाको नेतृत्व गरेको र भर्खरै सेती नदीको २५ मेगाघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न भएर पोखरामा बिजुली उत्पादनसमेत भइरहेको बताए ।​

भिजनको अहिले १६०० जना शेयर सदस्य रहेको र अहिले उर्जा, पर्यटन, वित्त, शिक्षा, स्वास्थ्य, कृषि तथा सूचना प्रविधिका क्षेत्रमा लगानी गरेको उनले जानकारी दिए । 

कार्यक्रममा भिजन लुम्बिनीका सञ्चालक समिति सदस्य कुलबहादुर केसीले १० वर्षमा ९ वटा विभिन्न क्षेत्रमा कम्पनीहरू स्थापना गरी देशैभर लगानीकर्ताहरूलाई जोडन सफल भएको बताए । अब भिजन नेपालमा कम्तीमा २ देखि ५ लाखसम्म लगानी गर्ने गरी सामूहिक भावनामा अगाडि बढ्ने उल्लेख गरे ।​

भिजन लुम्बिनी उर्जा कम्पनीका अध्यक्ष सुदीप सिंह अधिकारीले अहिले पोखरा कास्कीमा सेती जलविद्युत्‌मा बिजुली बालेर सफलतापूर्वक काम सकिएको बताए ।

लगानीका सम्भावनाहरू खोज्ने उद्देश्यका साथ विभिन्न क्षेत्रमा व्यक्तिहरूको उपस्थितिमा अन्तरक्रिया गरिएको सञ्चालक राजीव गौतमले बताए ।

salt training

कमेन्ट गर्नुहोस्