२९ असार २०८३, सोमबार

अवैध सुन कारोबारीको तथ्य सदनलाई जानकारी गराउन सांसदको माग

जेठ ५, २०८२
काठमाडौं
अवैध सुन कारोबारीको तथ्य सदनलाई जानकारी गराउन सांसदको माग

गाडीमा अवैध रूपमा बोकिएका सुन समातिने र तिनका चालक पक्रिने तर अवैध रूपमा सुनको कारोबार गर्नेहरू सार्वजनिक नगरिने क्रम अन्त्य गर्न सांसदले सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसद रामहरि खतिवडाले केही समयअघि टोखामा समातिएको सुनमा चालकमात्र समातिएको, त्यसका साहु को हो ? भन्ने अहिलेसम्म सार्वजनिक नभएकाले सदनलाई जानकारी गराउन माग गरे । आइतबार पनि रसुवामा अवैध रूपमा ओसारपसार भइरहेको सुन समातिएको थियो । 

धेरै पैसा लिएर महिला कामदारलाई हाउस मेडका रूपमा विभिन्न देश पठाउन थालिएकाले कानून बनाएर मात्र विदेश पठाउने व्यवस्था गर्न पनि उनले माग गरे ।

सांसद मनीष झाले न्यायालयप्रतिको विश्वास कम हुन थालेकाले विश्वास बढाउने वातावरण मिलाउन माग गरे ।

सांसद माधव सापकोटाले सिन्धुपाल्चोक जिल्लामा १४६ प्रकारका गुठी रहेको र त्यसका कारण किसान पीडामा रहेकाले विधेयक ल्याएर गुठी समस्या समाधान गर्न माग गरे। 

सांसद मैना कार्कीले कर्णालीलाई दया नभई सम्भावनाको दृष्टिकोणले हेर्न माग गर्दै जडीबुटी, अर्गानिक कृषिलगायत विषयमा कर्णालीको पहिचान बनेकाले त्यसको प्रवर्द्धन गर्ने गरी बजेटको व्यवस्था गर्न माग गरिन्।  

सांसद रणकुमारी बलम्पाखी मगरले घरेलु मदिरा उत्पादनलाई मान्यता दिने नीति बजेटमार्फत ल्याउन माग गरिन् ।

सांसद रमा कोइराला पौडेलले अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले भक्तपुरको हनुमन्ते खोला किनारमा ढल बिच्छ्याउन शुरू गरेकोमा अलपत्र भएकाले छिटो सम्पन्न गर्न माग गरिन् ।

सांसद रामशङ्कर यादवले शुरू गरिएका योजना पूरा गर्ने गरी आगामी आर्थिक वर्षको बजेट ल्याउन माग गरे ।

सांसद रेखा शर्माले नेपाल संस्कृत विश्वविद्यालयलगायतलाई प्रवर्द्धन गर्ने गरी विशेष बजेटको व्यवस्था गर्न माग गरिन् । 

बैठकमा सांसदहरू महेश बस्नेत, मेटमणि चौधरी, मेनकाकुमारी पोखरेल, राजेन्द्र बजगाईं, रूपा सोसी चौधरी, रोशन कार्की, लक्ष्मी तिवारी, लालवीर चौधरी, लेखनाथ दाहाल, बिजुला रायमाझी, रणेन्द्र बरालीलगायतले पनि समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराए ।

salt training

कमेन्ट गर्नुहोस्